आन्दोलनरत शिक्षकसँगको वार्ता निष्कर्ष नजिक पुगेको सरकारकाे दाबी
काठमाडौं । सरकारले आन्दोलनरत शिक्षक महासंघसँगको वार्ता निष्कर्षनजिक पुगेको दाबी गरेको छ । सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले सहमति भने हुन नसकेको सरकारले जनाएको हो ।
सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेको थियो । वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिए ।
उनले महासंघसँगको वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले यथाशीघ्र वार्तालाई निष्कर्षमा टुङ्ग्याउने जानकारी दिएका छन् । महासंघका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताए । उनले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन स्थगित गर्ने बताएका छन् ।
