आज लोकतन्त्र दिवस मनाइँदै
काठमाडौं । प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत कार्यक्रम गरी मनाइँदैछ ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको ०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइन्छ ।
निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा (माओवादी)सहितको सहभागितामा भएको जनआन्दोलनको बलमा उक्त घोषणामार्फत ०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो ।
जनआन्दोलनका बलमा स्थापना भएको लोकतन्त्रपछि भएका दुईवटा संविधानसभाको निर्वाचनद्वारा गठित संविधानसभाबाट २०७२ साल असोज ३ गते जारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई संघीयतामा प्रवेश गराएको हो। सोहीबमोजिम संघ, प्रदेश र स्थानीय तहको दुईपटक निर्वाचन भई अहिले मुलुक संघीयताको अभ्यासमा छ ।
राज्यद्वारा उपलब्ध गराउनुपर्ने सेवासुविधा जनताको घरदैलोमै सरल र सहज रूपमा पुर्याउने तथा विपद्का बेलामा तत्कालै राहत र सहयोग उपलब्ध गराउने सन्दर्भमा संघीताको अभ्याससँगै संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयले प्रभावकारी र सकारात्मक नतिजा प्रदान गर्दै आएको छ ।
२०६२/६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
