शिक्षक महासंघले आन्दोलन थप चर्काउदै
काठमाडौं । नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन थप चर्काउने भएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनको २२ औँ दिनका लागि आन्दोलनको समय परिवर्तन भएको जानकारी गराउँदै गाउँमा भएका साथीलाई काठमाडौं बोलाउन अनुरोध गरेका हुन् ।
उनले महासंघले गर्दै आएको काठमाडौं केन्द्रित आन्दोलनको समय हेरफेर गरेको जानकारीसमेत गराएका छन् । महासंघले बिहान ९ बजेदेखि आन्दोलन गर्दै आएकोमा बुधबारदेखि भने बिहान ११ बजेदेखि सुरु गरेर दिउँसो २ बजेसम्म प्रदर्शन गर्ने जानकारी गराए ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका अधिकांश शिक्षक चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । शिक्षक आन्दोलनकै कारण कक्षा ११ को परीक्षा सरकारले वैशाख २१ गतेदेखि गर्नेगरी सारेको छ ।
अध्यक्ष सुवेदीले राष्ट्रिय समितिको मंगलबारको बैठकले आन्दोलनलाई अझ कडा र दरिलो बनाउने निर्णय गरेको जानकारीसमेत गराएका छन् । उनले आजसम्मको प्रदर्शन देखिएको अनुशासन र संयमको सबैले प्रशंसा गरेको भन्दै सदा झैं जुलुशमा सहभागी हुन अनुरोध गरेका छन् ।
उनले महासङ्घले निषेध गरेका कुनै पनि काम नगर्न शिक्षकसँग आग्रह गरेका छन् । बुधबारको आन्दोलनमा राष्ट्रिय समितिको मुख्य ब्यानरपछि क्रमशः सुदूरपश्चिम, कर्णाली, लुम्बिनी गण्डकी, बागमती, मधेश र कोशी प्रदेश बस्ने व्यवस्था गरिएको उनको भनाइ छ ।
