युद्धविरामपछि पनि रूसले हमला जारी राखेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको दाबी
रुसी सेनाले ३८७ पटक गोलाबारी गरेको जिकिर
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रूसले ‘युद्धविरामको नाटक’ मात्र गरिरहेको आरोप लगाएका छन् ।
युक्रेनका केही क्षेत्रहरूमा अझै पनि रूसले सैन्य कारबाही जारी राखेको उनको आरोप छ । तर आदेश लागु भएको केही घण्टापछि किएभ र अन्य धेरै युक्रेनी क्षेत्रमा हवाई–आक्रमणका साइरन बजेका थिए ।
जेलेन्स्कीले रुसमाथि आफ्नो आक्रमणहरू कायम राखेको आरोप लगाएका हुन् । जेलेन्स्कीका अनुसार, रुसी सेनाले ३८७ पटक गोलाबारी, १९ आक्रमण र २९० पटक ड्रोनको प्रयोग गरेको छ । केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उक्त आरोपको स्वतन्त्र पुष्टि गर्न नसकिएको उल्लेख गरेका छन् ।
यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इस्टर पर्वको अवसरमा युद्धविरामको घोषणा गरेका थिए । तीस घण्टाको युद्धविराम तीन वर्षको द्वन्द्वमा लडाइँको सबैभन्दा महत्वपूर्ण विराम हुनेछ । इस्टर सप्ताहन्तमा सबै युद्ध रोक्ने पुटिनको आदेश मस्को र किएभलाई युद्धविराममा सहमत गराउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महिनौँको प्रयासपछि आएको हो ।
शुक्रबार वासिङ्टनले कुनै प्रगति नभए वार्ताबाट फिर्ता हुने धम्की समेत दिएको थियो । पुटिनले आइतबार मनाइने इस्टर बिदाका लागि गरिएको युद्धविराम ‘मानवीय कारण’ बाट प्रेरित भएको बताएका थिए ।
