काठमाडौंमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा भगवतीको अपराजित यात्रा कायमै
नयाँबस्तीविरुद्ध सहज जित
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री भगवती क्लब टोखाले नयाँबस्ती युथ क्लबविरुद्ध ३–० को सहज जित निकालेको छ । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न पहिलो खेलमा भगवतीलाई जित दिलाउन देवस छन्त्याल, अमित लामा र विक्रान्त नरसिंह राणाले गोल गरे ।
भगवतीले पहिलो हाफमा नै तीन गोलको अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमा भगवतीका देवसले गोल गर्दै टोलीलाई अग्रता दिलाए । १६औं मिनेटमा अमितले टोलीको अग्रतालाई दोब्बर बनाए । ३०औं मिनेटमा विक्रान्त नरसिंहले टोलीका निम्ति तेस्रो गोल गरे । पहिलो हाफमा पाएको यही अग्रतालाई अन्तिम समयसम्म जोगाउँदै भगवतीले जित निकालेको हो ।
जितसँगै भगवतीले उपाधि दौडमा दबदबा कायम राखेको छ । भगवती सात खेलमा पाँच जित, दुई बराबरीबाट कुल १७ अंक बनाउँदै दोस्रो स्थानमा छ । गवतीको यो अंक शीर्ष टोली प्लानिङ ब्वाइजको भन्दा एक अंकले मात्र कम हो । नयाँबस्ती भने सातौं खेलमा चौथौ हार खेप्दै एक जित र दुई बराबरीबाट पाँच अंक सहित रेलिगेसन जोनमा छ ।
