सगरमाथा बेसक्याम्पमा विलासी सामान प्रयोगमा रोक लगाउन सरोकारवालाको माग
आरोहीकै कारण हिमालहरु जोखिममा परेको तर्क

काठमाडौं । सरोकारवालाले सगरमाथा बेसक्याम्पमा प्रयोग गरिने विलासी सामान प्रयोगमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले हिमाल चढ्न जाँदा पनि आरामदायी जीवन बिताउन खोज्ने परिपाटीका कारण हिमालहरु बढी जोखिममा परेको दाबी गरेका हुन् ।
उनीहरुले बेसक्याम्पमा लग्जरी जीवनशैलीका लागि प्रयोग हुने सामग्री प्रयोगमा रोक लगाउन सरकारलाई सुझाव दिएका छन् । हिमाली पर्यटन व्यवसायी एवं पथप्रदर्शक (गाइड) दावा टासी शेर्पाले हिमाली क्षेत्रमा लग्जरी मेसिनको प्रयोग गर्ने गरिएको उल्लेख गर्दै त्यसबाट उत्पन्न समस्याको दोष जलवायु परिवर्तनलाई दिने गरिएको गुनासो गरेका छन् ।
शेर्पाले धेरै मानिस हिमाल अरोहणका लागि जाँदा हिउँ पग्लिएर हिमालले थेग्न नसकेको भनेर गलत प्रचार गरिएको दाबी गरे । हिमाल आरोहणका लागि मौसम सधैँ अनुकुल नहुँदा कहिले काहीँ एकैदिन भार पर्ने कुरालाई मात्रै हेरेर ‘हिमालले अब धान्दैन’ भनी गलत प्रचार नगर्न आग्रह गरेका छन् ।