अमेरिकाले दक्षिण सुडानका राहदानीवाहक सबै आप्रवासीको भिसा रद्द गर्ने, नयाँ भिसा पनि नदिने
समयमै आफ्ना नागरिकलाई स्वीकार गर्न नमानकाले यस्तो निर्णय गरिएको दाबी
काठमाडौं । अमेरिकाले दक्षिण सुडानको राहदानीवाहक सबै आप्रवासीको भिसा रद्द गर्ने भएको छ ।
अमेरिकाबाट निष्कासित नागरिकलाई स्वीकार गर्न नमानेको भन्दै अमेरिकाले दक्षिण सुडानको राहदानी लिएर अमेरिकामा बसोबास गर्दै आएका सबै आप्रवासीको भिसा रद्द गर्ने निर्णय गरेको हो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।
उनले आइन्दा दक्षिण सुडानको राहदानी भएका कसैलाई पनि अमेरिकी भिसा नदिने समेत स्पष्ट पारेका छन् । दक्षिण सुडानको अन्तरिम सरकारले समयमै आफ्ना नागरिकलाई स्वीकार गर्न नमानकाले यस्तो निर्णय गरिएको उनले बताएका छन् ।
अमेरिकाले पछिल्लो समय हजारौँ आप्रवासीलाई देश निकाला गर्दै आएको छ । यसरी देश निकालामा परेका आफ्ना नागरिकलाई दक्षिण सुडानले फिर्ता लिन नमानेको उनको भनाइ छ । उनले दक्षिण सुडानको अन्तरिम सरकारलाई अमेरिकाबाट फाइदा नलिन समेत चेतावनी दिएका छन् ।
अमेरिकासहित अर्को मुलुकले निष्कासन गरेका आफ्ना नागरिकलाई समयमा नै स्वीकार गर्नु हरेक मुलुकको कर्तव्य हुने उनको भनाइ छ । गृहयुद्ध चलिरहेको अवस्थामा दक्षिण सुडानका नागरिकलाई अमेरिकाले ‘टेम्प्रोरी प्रोटेक्टेड स्टाटस ९टीपीएस०’ कार्यक्रमअन्तर्गत अस्थायी रुपमा बसोबासको अधिकार दिँदै आएको छ । दक्षिण सुडानका नागरिकका लागि यो कार्यक्रम आउँदो मे ३ बाट अन्त्य हुँदैछ ।
