sevenstartv.com २१ वैशाख २०८३, सोमवार

राष्ट्रपतिलगायत विशिष्ट व्यक्तिको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो

२० साउन २०८१, आइतवार स्टार संवाददाता

 काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत वशिष्ट व्यक्तिको उपस्थितिमा भोटो देखाउने देखाइएको गुठी संस्थानले जनाएको छ ।भोटो जात्रालाई झन्डै आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो ।

जा (भात) वला (छर्ने )भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए ।भूत, प्रेतलाई खाना दिन यो जात्रा गर्ने गरिएको विश्वास छ । भोटो जात्रा कहिलेदेखि शुरू भयो भन्नेमा यकिन तिथि–मिति नभए पनि मच्छिन्द्रनाथको यात्रा भने झन्डै एक हजार तीन सय वर्षअघि नै शुरू भएको हो ।किंवदन्तीअनुसार यो जात्रा शुरू भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो ।

कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कार स्वरूप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो ।

किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।  भूत आएर भोटो लग्यो । किसानले खोजे तर पाएनन् । मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कार स्वरूप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाएको मानिन्छ । आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो ।

हरेक वर्ष साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ ।पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । भोटो जात्राको अवसरमा सरकारले आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई पनि खटमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ । रातो मच्छिन्द्रनाथको रथजात्रा गएको वैशाख २९ गते पुल्चोकबाट रथ तानेर शुरू भएको हो । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्