अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच युक्रेनमा युद्ध रोक्ने बारेमा टेलिफोन वार्ता
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेनमा युद्ध रोक्ने बारेमा टेलिफोन वार्ता भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा तत्काल र पूर्ण युद्धविरामका लागि अमेरिकी प्रस्ताव अस्वीकार गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्तापछि उनी ऊर्जा पूर्वाधारमा मात्र आक्रमण रोक्न सहमत भएका छन् । ट्रम्पको टोलीले हालै साउदी अरेबियामा युक्रेनसँग गरेको एक महिना लामो युद्धविराममा पुटिनले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । उनले युक्रेनसँग विदेशी सैन्य सहायता र गुप्तचर जानकारी आदानप्रदान बन्द भएमा मात्र युद्धविराम सम्भव हुने बताए ।
यद्यपि, युक्रेनका युरोपेली सहयोगीहरूले पहिले नै यस्ता सर्तहरूलाई अस्वीकार गरिसकेका छन् । तीन वर्ष लामो युद्धमा रूसले हालै ६ महिनाअघि युक्रेनी आक्रमणको क्रममा कब्जा गरेको कुरुस्क क्षेत्रको भूभाग फिर्ता लिइरहेको छ । गत हप्ता साउदी अरेबियामा अमेरिकी प्रतिनिधिसँगको वार्तामा युक्रेनले ३० दिनको अमेरिकी युद्धविराम प्रस्तावमा सहमति जनाएको थियो ।
