इजरायलद्वारा गाजामा भीषण आक्रमण
झण्डै साढे तीन सय प्यालेस्टाइनी मारिए
काठमाडौं । इजरायली सेनाले गाजामा भीषण आक्रमण गरेको छ । इजरायल र विद्रोही हमासबीच भएको युद्ध विरामपछि यो सबैभन्दा ठूलो आक्रमण हो । जनवरी १९ बाट सुरु भएको युद्ध विरामपछिको अहिलेसम्मकै ठूलो भनिएको कारबाहीमा सयौं प्यालेस्टाइनीको मृत्यु भएको छ ।
इजरायली सेनाले गाजा क्षेत्रमा आफ्ना तर्फबाट ठूलो आक्रमण भइरहेको जनाएको छ । बीबीसीको हिन्दी अनलाइन संस्करणले हमासको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै आक्रमणमा परी कम्तिमा पनि ३३० प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । यसअघि इजरायल डिफेन्स फोर्सले विद्रोही हमासको लडाकुहरूका गतिविधि भइरहेका स्थानमा आक्रमण सुरु गरिएको बताएको थियो ।
सोही आक्रमणका क्रममा गाजाका आन्तरिक मामिला उपमन्त्रीसमेत रहेका हमासका सैन्य कमान्डर महमुद अबु वफाह मारिएको बताइएको छ । गाजाका प्रत्यक्षदर्शीले मानिसहरू खाना खाइरहेको समयमा आक्रमण भएको बताएका छन् । उनीहरूले आकाशमा २० भन्दा बढी इजरायली लडाकु विमान देखेको पनि जानकारी दिएका छन् ।
ती विमाहरूले गाजा सहर, रफाह र खान युनिसमा एकाएक आक्रमण गरेको बताइएको छ । इजरायलको प्रधानमन्त्री कार्यालयबाट जारी बयानका अनुसार प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले मंगलवार बिहान गाजा क्षेत्रमा आक्रमणका लागि आदेश दिएका थिए ।
