बंगलादेशका नेता युनुसको चीन भ्रमणको घोषणा
चीनसँगको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने लक्ष्य
काठमाडौं । बंगलादेशको संक्रमणकालीन सरकारका प्रमुख नेता मोहम्मद युनुस यसै महिना कूटनीतिक सद्भावना भ्रमणका लागि बेइजिङ जाने भएका छन् ।
छिमेकी मुलुक भारतसँगको चिसो सम्बन्ध देखिएका समय उनको चीन भ्रमण हुन लागेको हो ।
नोबेल शान्ति पुरस्कार विजेता युनुसले गत अगष्टमा भएको विद्यार्थी आन्दोलनबाट पदच्युत भएकी पूर्वप्रधानमन्त्री शेख हसिनाको स्थानमा बंगलादेशको बागडोर सम्हालेका हुन् । भारत हसिनाको सरकारको सबैभन्दा ठूलो हितैषी थियो र उनको बहिर्गमनले भारतसँगको सीमापार सम्बन्धलाई संकटमा पारेको समय युनुस नेतृत्वको कामचलाउ सरकारले एसियाली उपमहाद्वीपमा सत्ता र प्रभावका लागि नयाँ दिल्लीको प्रमुख प्रतिद्वन्द्वी बेइजिङसँगको पूरानो मित्रतालाई प्रगाढ बनाउन लागेको विश्लेषकहरूले बताएका छन् ।
युनुसका सञ्चार सचिव शफिकुल आलमले बंगलादेशले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने लक्ष्य राखेको बताए । युनुसले मार्च २६ देखि २९ सम्म हुने भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । चीनमा रहँदा उनलाई पेकिङ विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्ने साथै लगानीका अवसरहरूको खोजी गर्न विभिन्न चिनियाँ फर्महरूसँग भेटघाट गर्ने पनि कार्यक्रम रहेको छ ।
सन् २०१७ मा छिमेकी मुलुक म्यानमामा भएको हिंसात्मक सैन्य कारबाहीबाट भागेर आएका रोहिङ्ग्या शरणार्थीको विशाल जनसंख्याबारे पनि कूटनीतिक वार्ताबाट छलफल हुने अपेक्षा गरिएको छ ।
