पाकिस्तानमा हतियारधारी समुहद्वारा यात्रुबाहक रेल अपहरण
आत्मघाती आक्रमणकारी पसेपछि उद्धारमा समस्या, कयौंको हत्या भएको सरकारी अनुमान
काठमाडौं । पाकिस्तानमा हतियारधारी पृथकतावादी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा लिएपछि देश नै तरंगित भएको छ । बन्दुकधारीहरुको एक समुहले रेल नियन्त्रणमा लिएर ३० भन्दा बढी सुरक्षा निकायका व्यक्तिको हत्या गरिसकेका छन् ।
४५० जना सवार रेलबाट २१४ जनालाई बन्दी बनाइएको थियो । समाचार एजेन्सीका अनुसार ‘जाफर एक्सप्रेस’ नाम गरेको रेललाई ‘बलुच लिब्रेशन आर्मी’ नामक पृथकतावादी सङ्गठनले नियन्त्रणमा लिएको थियो । संगठनले रेलमा रहेका सुरक्षाकर्मीसहित यात्रीलाई नियन्त्रणमा लिएको थियो । उक्त रेल क्वेटा सहरबाट पेसावरतर्फ जाँदै गरेको अवस्थामा लडाकु समूहले नियन्त्रणमा लिएका थिए ।
पाकिस्तानी अधिकारीहरुका अनुसार बलुचिस्तान प्रान्तमा रेल हाइज्याक गरिएपछि अहिले बचाउ र उद्धार अभियान चलाइएको छ । तर बन्धकहरूसँगै आत्घाती आक्रमणकारी पनि सवार रहेकाले ठोस कदम चाल्न पाकिस्तानी सरकारलाई समस्या भएको छ । पाकिस्तानमा सैन्य सुत्रले बीबीसीलाई बताएअनुसार उद्धार अभियानका क्रममा अहिलेसम्म १५५ यात्रुलाई बचाइएको छ ।
त्यसैगरी २७ जना चरमपन्थी पनि मारिएका छन् । अर्कातर्फ रेल नियन्त्रणमा लिएको समूहले त्यसमा सवार अधिकांश सुरक्षाकर्मीको ज्यान लिएको जनाएको छ । तर दुवैतर्फ भएको हताहतीको औपचारिक पुष्टि हुन सकेको छैन । रेलवे अधिकारीहरूका अनुसार क्वेटा रेलवे स्टेशनबाट राहत ट्रेनमार्फत् २० भन्दा धेरै कफिन पनि पठाइएको छ ।
