पाकिस्तानमा ‘तीन आप्रवासी’को गोली हानी हत्या
बलुचिस्तामा अन्य क्षेत्रबाट आएका सर्वसाधारण बन्धुकधभारीको निशानामा
काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्तमा बन्दुकधारीले तीन ‘आप्रवासी’ हजामको गोली हानी हत्या गरेको प्रहरीले सोमबार जनाएको छ । बलुचिस्तानमा देशका अन्य भागबाट आएका मजदुरहरूमाथि आक्रमण बढेको छ र लडाकुले उनीहरूलाई यस क्षेत्रबाट लाभ उठाएको आरोप लगाउने गरेका छन् ।
अफगानिस्तान र इरानसँग सीमा जोडिएको सो प्रान्तमा लडाकूहरू सेनालाई सूचना दिएको आरोप लगाएका आप्रवासी हेयरड्रेसरलाई बारम्बार निशाना बनाइएको छ । प्रहरीका अनुसार आइतबार साँझ मोटरसाइकलमा आएका बन्दुकधारीले सैलुन पसलमा पसेर गोली चलाएका थिए । यस आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।
पृथकतावादी बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) यस क्षेत्रको सबैभन्दा सक्रिय समूह हो, जसले बाहिरी व्यक्तिलाई यसको समृद्ध स्रोतहरूको दोहन गरेको आरोप लगाउदै आक्रमण गर्ने गरेको छ । गत फेब्रुअरीमा लडाकुहरूले एक बस रोकेर सात जना पञ्जाबी मजदुरहरूलाई मृत्युदण्ड दिएका थिए ।
गत वर्षको अप्रिलमा नौश्की शहरमा बसबाट अपहरणमा परेका ११ जना पञ्जाबी मजदुरको पनि मृत्यु भएको थियो भने सोही वर्षको मे महिनामा छ जना पञ्जाबी हजामलाई गोली हानी हत्या गरिएको थियो ।
