रुसले आक्रमण थालेसँगै सुरु भएको युक्रेन युद्धको ३ वर्ष पूरा
समर्थन जनाउन १५ युरोपेली नेता राजधानी किभमा
काठमाडौं । रुसले आक्रमण गरेको तीन वर्ष पूरा हुँदा युक्रेनप्रति समर्थन जनाउन युरोपेली नेताहरूको एउटा टोली किभ पुगेको छ । डेनमार्क, नर्वे, स्वीडेन, फिनल्यान्ड, लिथुवानिया, लाट्भिया र इस्टोनियाका नेताहरू युक्रेन पुगेका हुन् ।
त्यसका अलावा स्पेनी प्रधानमन्त्री पेड्रो साञ्चेज र क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडो अनि युरोपेली संघ र युरोपेली परिषदका पदाधिकारी पनि त्यहाँ पुगेका छन् । १५ नेता उपस्थित भएका छन् भने अरु केही भिडिओ लिंकमार्फत जोडिएको बताइएको छ । उनीहरूले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीप्रति समर्थन जनाउने छन् ।
जो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट दबाबमा परेका छन् । ट्रम्पले जेलेन्स्की तानाशाह बनेको भन्दै आलोचना गरेका थिए । जेलेन्स्कीले आफू आलोचनाबाट नरिसाएको जनाएका छन् । शान्तिका लागि कुर्सी छाड्न पनि आफू तयार रहेको उनको भनाइ छ ।
