हमासद्वारा पहिलो पटक चार जना बन्धकको शव इजरायललाई हस्तान्तरण
शवको पहिचानका लागि फोरेन्सिक इन्स्टिच्युटमा लगिने
काठमाडौं । गाजाक्षेत्रको विद्रोही समूह हमासले चार जना बन्धकको शव इजरायललाई हस्तान्तरण गरेको छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको कार्यालयले गाजा क्षेत्रमा बन्धक बनाएपछि ज्यान गुमाएका चार जनाको हस्तान्तरण गरिएको हो ।
प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति निकालेर इजरायल रक्षा बल (आईडीएफ) ले अब ती शवको पहिचानका लागि जाफास्थित अबु कबीर फोरेन्सिक इन्स्टिच्युटमा लाने छ । इजरायली सेनाले मृतकबारेमा शवको पहिचानबाट मृत्युको पुष्टि भएपछि मात्रै परिवारलाई जानकारी गराउने तयारी गरेको छ ।
यसअघि हमासले एक विज्ञप्ति जारी गर्दै इजरायली आक्रमणमा मारिएका चारजना बन्धकको शव फिर्ता गर्ने घोषणा गरेको थियो । अघिल्लो महिना युद्धविराम सुरू भएपछि पहिलो पटक हमासले मृतक बन्धकको शव फिर्ता गरेको हो । हमासले अब ६ जना जीवित बन्धकलाई शनिबार रिहा गर्ने भएको छ ।
०००
