२७ वर्षपछि दिल्लीमा भाजपा सरकार, मुख्यमन्त्री गुप्ताले लिइन् शपथ
जोशका साथ विकासका काम गर्न प्रधानमन्त्री मोदीको शुभकामना
काठमाडौं । भारतको दिल्लीमा २७ वर्षपछि भारतीय जनता पार्टी (भाजपा)ले सरकार बनाएको छ । विधानसभाको ७० सिटमध्ये ४८ सिटमा विजय हासिल गर्दै भारतको सत्तारूढ दल दिल्ली विधानसभामा २७ वर्षपछि सरकार बनाएको हो ।
यहाँ भाजपाले रेखा गुप्तालाई मुख्यमन्त्री बनाएको छ । मुख्यमन्त्री गुप्ताले बिहीबार शपथ ग्रहण समेत गरिसकेकी छन् । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका अन्य अरू नेताहरू पनि उपस्थित थिए । मुख्यमन्त्री गुप्तासहित प्रवेश वर्मा, मनजिंदर सिंह सिरसा, रवीन्द्र इन्द्राज सिंह, आशीष सूद, कपिल मिश्रा र कम्पसकुमार सिंहले मन्त्रीको शपथ लिएका छन् । उनीहरुको मन्त्रालय तोकिइसकेको छैन ।
प्रवेश वर्माले नयाँ दिल्ली सिटमा पूर्व मुख्यमन्त्री एवम् आम आदमी पार्टीका संयोजक अरबिन्द केजरीवाललाई पराजित गरेका थिए । यसैबीच भारतीय प्रधानमन्त्री नवनिर्वाचित मुख्यमन्त्री गुप्तालाई बधाई तथा शुभकामना दिएका छन् । दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा सहभागी भएका मोदीले गुप्तालाई बधाई दिँदै दिल्लीको विकासका लागि जोशका साथ काम गर्ने अपेक्षा रहेको बततए ।
प्रधानमन्त्री मोदीले उनलाई सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका छन् । उनले भाजपा नेतृ गुप्ता तल्लो तहबाट उठ्दै मुख्यमन्त्रीसम्म बनेको उल्लेख गरेका छन् ।
