इरानमा चिसो बढेपछि विद्यालय र सरकारी कार्यालय बन्द
काठमाडौं । इरानले तेहरानसहित २० भन्दा बढी प्रान्तका विद्यालय र सरकारी कार्यालय बन्द गरेको छ । विश्वको सबैभन्दा ठूलो तेल र ग्याँस भण्डार इरानमा विद्युत् भने आवश्यकता अनुसार उत्पादित छैन अर्थात् यहाँ विद्युत् अभावको अवस्था रहेको छ ।
जाडोमा तातोको माग बढेपछि इरानले आफ्नो पावर प्लान्टहरूलाई पर्याप्त इन्धन आपूर्ति गर्न संघर्ष गरिरहेको छ । तेहरान, अल्बोर्ज, फार्स, हमादान, इस्फाहान, कुर्दिस्तान र याज्द सहित २० भन्दा बढी अन्य प्रान्तहरू बन्दले प्रभावित भएका छन् । मंगलबार राति तेहरानका विभिन्न जिल्लामा विद्युत् आपूर्ति बन्द भएको सरकारी टेलिभिजनले जनाएको छ ।
राष्ट्रिय विद्युत कम्पनी तावनीरले प्लान्टहरू सञ्चालन गर्न काम गरिरहेको जनाउँदै चरम मौसम र इन्धनको अभावको कारण ग्यास र बिजुली खपतमा १० प्रतिशत कटौती गर्न आग्रह इरानले गरेको छ । सरकारी टेलिभिजनका अनुसार हमादानको तापक्रम माइनस १९ डिग्री सेल्सियसमा झरेको छ ।
बुधबारको मौसम पूर्वानुमानअनुसार १३ प्रान्तमा भारी वर्षा, मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ भने पहाडी भू-भागमा हिमपातको सम्भावना रहेको छ । तेहरानबाट करिब ३०० किलोमिटर पश्चिममा रहेको जाग्रोस पर्वतमा ६० वटा गाउँ हिउँले ढाकिएका छन् र आपूर्तिका लागि हवाई सेवा जारी रहेको छ ।
