दमौलीको रुम्सी होमस्टे आन्तरिक पर्यटकको रोजाइमा
काठमाडौं । दमौलीको व्यास नगरपालिका-१४ स्थित रुम्सी होमस्टेमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । अर्गानिक खाना, प्राकृतिक सौन्दर्यता र ग्रामीण जीवनशैलीका कारण आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।
पर्यटकलाई अर्गानिक खाना, लोकल कुखुराको परिकार, मगर जातिको नृत्यबाट स्वागत गर्ने प्रचलन रहेको छ । होमस्टे सञ्चालक समितिका अध्यक्ष सन्तोष रानामगरले पाहुनाहरू ग्रामीण परिवेश, पारिवारिक वातावरण र स्थानीय परिकारबाट प्रभावित हुने गरेका बताउनुभयो । दमौलीबाट गाडीमा एक घण्टाको दूरीमा रहेको यो गाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै गएको उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत रुम्सी गाउँलाई नमूना गाउँ घोषणा गरेको थियो ।
यहाँ घरबास स्थापन गरी सञ्चालनमा ल्याउन प्रदेश सरकारले ६५ लाख र व्यास नगरपालिकाले ३५ लाख लगानी गरेका छन् । परियोजनाअन्तर्गत ११० घरधुरीमा पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ भने ३० घरधुरीमा होमस्टे पूर्वाधार विकास गरिएको अध्यक्ष रानामगरले जानकारी दिए । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत् रुम्सी गाउँलाई नमूना गाउँ घोषणा गरी पर्यटन प्रवद्र्धन गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताएका छन् ।
