sevenstartv.com ९ चैत २०८२, सोमवार

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगले विश्वभर रहेका आफ्ना कर्मचारीलाई स्वेदेश फर्कन निर्देशन

२३ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ले विश्वभर रहेका आफ्ना कर्मचारीलाई स्वेदेश फर्कन निर्देशन दिएको छ । यूएसएआईडीले सूचना निकालेर निश्चित कर्मचारीबाहेक अरूलाई आउँदो शुक्रबार रातिदेखि प्रशासनिक बिदा दिइएको जानकारी गराएको हो ।

अहिलेको कार्यालयमै बस्नुपर्ने कर्मचारीलाई भोलिसम्ममा जानकारी दिने र बाँकी कर्मचारीले शुक्रबार रातिदेखि बिदा पाउने सूचनामा उल्लेख छ । व्यक्तिगत र पारिवारिक व्यवस्था मिलाएर ३० दिनभित्र अमेरिका फर्कने व्यवस्था गर्नुपर्ने र बालबालिकाको विद्यालय, गर्भवस्थालगायतका परिस्थितिमा समयसीमाबारे विचार गर्ने पनि सूचनामा उल्लेख छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसएआईडीको सहायता तीन महिनाका लागि रोक्दै समीक्षा र पुनरावलोकन गर्ने आदेश गरेपछि यस्तो सूचना जारी भएको हो । ट्रम्पले यसअघि नै यूएसएआईडीका दुई जना उच्च अधिकारीसहित केही कर्मचारीलाई निलम्बन गरिसक्नुभएको छ । यूएसएआईडी सन् १९६१ मा राष्ट्रपति जोन एफ। केनेडीको प्रशासनमा स्थापित भएको हो । 

यसले गरिबी निवारण, रोगहरूको उपचार, अनिकाल र प्राकृतिक प्रकोपहरूको प्रतिक्रिया दिन विश्वभर वार्षिक रूपमा अर्बौं डलर वितरण गर्छ । सन् २०२३ मा यूएसएआईडीले विश्वका सयभन्दा धेरै देशमा गरी ४० अर्ब अमेरिकी डलर अर्थात् झन्डै ५५ खर्ब ३७ अर्ब रुपैयाँ खर्च गरेको थियो । विश्वभर रहेका यूएसएआईडीको कार्यालयमा १० हजार जनाभन्दा बढी कर्मचारी रहेका जनाइएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्