अमेरिकामा विमान दुर्घटना, १८ जनाको मृत्य
काठमाडौं । अमेरिकाको वासिङटन डिसीमा भएको हवाई दुर्घटनामा कम्तीमा १८ जनाको ज्यान गएको छ । वासिङटन डिसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको यात्रुवाहक विमान र सेनाको हेलिकप्टरसँग आकाशमै ठोकिएको हो ।
बीबीसीका अनुसार उद्धारका लागि करिब ३ सय आपत्कालीन उद्धारकर्ता, प्रहरीका गोताखोर र डुंगा परिचालन गरिएको छ । रातको समय र वासिङटनको तापक्रम कम भएका कारण उद्धारमा कठिनाइ भएको जनाइएको छ । डिसीका आगलागी तथा आपत्कालिन चिकित्सा सेवा प्रमुख जोन ए डोनेली सिनियरले अँध्यारो र धमिलो पानी भएकाले उद्धारमा कठिनाइ भएको बताएका सीएनएनले जनाएको छ ।
चालकदलका ४ र ६० जना यात्रु बोकेर कान्सस राज्यको विचिटाबाट उडेको विमान धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा हेलिकप्टरसँग ठोकिएको हो । तालिमका लागि प्रयोग भएको सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरमा तीन सैनिक रहेको जनाइएको छ । हेलिकप्टर भर्जिनिया राज्यस्थित फोर्ट बेल्भोयरबाट उडेको थियो । अमेरिकी अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् । दुर्घटनापछि रोनाल्ड रेगन विमानस्थल बन्द गरिएको र त्यहाँ आउन लागेका विमानहरूलाई डालस अन्तर्राष्ट्रिय विमानस्थलतिर पठाइएको छ ।
