sevenstartv.com १० चैत २०८२, मङ्गलवार

गाजामा ५ करोड टनभन्दा बढी भग्नावशेष हटाउन ५ वर्षसम्म लाग्न सक्ने अनुमान

११ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । गाजामा रहेको भग्नावशेष हटाउन ५ वर्षसम्म लाग्न सक्ने प्यालेस्टिनी अधिकारीले बताएका छन् । पर्याप्त रकम र उपकरण उपलब्ध भएमा इजरायलसँगको द्वन्द्वका क्रममा गाजामा रहेको भग्नावशेष हटाउन ३ देखि ५ वर्ष लाग्न सक्ने प्यालेस्टिनी सार्वजनिक संरचना निर्माण तथा आवास मन्त्री अहेद बिसिसोलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

प्यालेस्टिनी समाचार संस्था वाफासँगको कुराकानीमा मन्त्री बिसिसोले विस्फोटक पदार्थ पत्ता लगाउनका लागि स्रोत, कोष र विशेष उपकरणहरू सुरक्षित गर्न तथा भग्नावशेष उठाउन, सामान छुट्टाउन र ढुवानी गर्न ३ देखि ५ वर्ष लाग्न सक्ने अनुमान गरेको बताए । उनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी० लगायत विभिन्न संस्थासँग सडक खुलाउने र भग्नावशेष हटाउने प्रक्रियामा समन्वयका लागि मन्त्रालयले काम गरिरहेको उल्लेख गरे । 

अर्को चरणमा विद्यालय, अस्पताल र मस्जिदसहित १ सय ५० वटा सार्वजनिक भवनको भग्नावशेष हटाउने र सडक पुनः सञ्चालन गर्ने विषयमा केन्द्रित हुने उहाँको भनाइ छ । प्रारम्भिक जानकारीअनुसार इजरायली आक्रमणका कारण झन्डै ४ लाख आवासीय इकाइहरू पूर्ण वा आंशिक रूपमा नष्ट भएका छन् । दाताहरूको समन्वयमा दुई लाख नयाँ इकाइहरूको निर्माण गर्नुपर्ने आवश्यकता देखिएको प्यालेस्टिनी सार्वजनिक संरचना निर्माण तथा आवास मन्त्री अहेद बिसिसोले बताए ।

संयुक्त राष्ट्रसंघको अनुमानअनुसार २० लाखभन्दा बढी जनसंख्या रहेको गाजामा ५ करोड टनभन्दा बढी भग्नावशेष हटाउन आवश्यक छ र यसका लागि झन्डै १ अर्ब २० करोड अमेरिकी डलर लाग्नेछ । गाजामा रहेको प्यालेस्टिनी सरकारी सञ्चारमाध्यम वाफाको कार्यालयले युद्धविरामपछिको आफ्नो पहिलो मूल्यांकनमा गाजा पट्टीको ८८ प्रतिशत क्षेत्रमा क्षति पुगेको र प्रारम्भिक क्षति ३८ अर्ब डलरभन्दा बढी भएको अनुमान गरेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्