भारतको दिल्ली विधानसभा चुनावको मिति तय, आगामी फेब्रुअरी ५ मा ७० सिटका लागि निर्वाचन हुँदै
काठमाडौं । भारतको दिल्ली विधानसभा चुनाव आगामी फेब्रुअरी ५ मा हुने भएको छ । भारतीय निर्वाचन आयोगले मंगलबार दिल्ली विधानसभा चुनावको मिति तोकेको हो । भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त राजीव कुमारले दिल्ली विधानसभाको नतिजा फेब्रुअरी ८ मा आउने जानकारी दिए ।
दिल्लीका ७० सिटमध्ये १२ आरक्षित छन् भने ५८ सिट साधारण हुन् । दिल्लीमा कुल १ करोड ५५ लाख मतदाता रहेका छन् जसमध्ये ८३ लाख ४९ हजार पुरुष छन् भने ७१ लाख ७४ हजार महिला रहेका छन् । पहिलो पटक मतदान गर्ने मतदाताको संख्या करिब २ लाख रहेको आयोगले जनाएको छ ।
राजधानीसमेत रहेको दिल्लीमा १३ हजारभन्दा बढी मतदान केन्द्र रहने पनि आयोगको भनाइ छ । दिल्लीमा १० वर्षदेखि आम आदमी पार्टीको सरकार छ । आम आदमी पार्टीले दिल्लीका सबै ७० सिटमा उठ्ने उम्मेदवारको सूची सार्वजनिक गरिसकेको छ । त्यस्तै भारतीय जनता पार्टीले २९ उम्मेदवार तथा कांग्रेसले ४० भन्दा बढी उम्मेदवारको सूची सार्वजनिक गरिसकेको छ ।
