sevenstartv.com १० चैत २०८२, मङ्गलवार

भीषण हिउँदे आँधीका कारण अमेरिकाका विभिन्न राज्यमा अत्यधिक चिसो

२२ पुष २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । अमेरिकामा भीषण हिउँदे आँधीसँगै ६ करोडभन्दा बढी मानिसका लागि मौसमी चेतावनी जारी गरिएको छ । आँधीले कतिपय स्थानमा ठूलो हिमपात गराउनुका साथै चिसो निकै बढाएको छ । 

कान्सस, मिजोरी, केन्टुकी, भर्जिनिया, वेस्ट भर्जिनिया र अर्कान्सस राज्यसँगै न्युजर्सीका कतिपय स्थानमा संकटकाल घोषणा गरिएको छ । सबैभन्दा बढि कान्सस र मिजोरी राज्यमा प्रभावित भएका जनाइएको छ । आँधीले अमेरिकको पूर्वी तटीय क्षेत्र बढि प्रभावति हुने ठानिएको छ । ओहायोदेखि वासिङटन डीसीसम्म १५ देखि ३० सेन्टिमिटरसम्म हिमपात हुने अनुमान गरिएको छ । न्युयोर्क राज्यका उत्तरी क्षेत्रमा तीन फिटभन्दा बाक्लो हिउँ परिसकेको छ । 

आँधी प्रभावित क्षेत्रमा हजारौं उडानहरू रद्द भएका छन् भने अधिकांश सडकहरू अवरुद्ध भएका छन् । अमेरिका भित्रिने र बाहिरिने १५ सयभन्दा बढी उडान रद्द भइसकेका छन् । झन्डै ५ हजार उडान प्रभावित हुने जनाइएको छ । अमेरिकन, डेल्टा, साउथवेस्ट र यूनाइटेड एअरलाइन्सले उडान परिवर्तन गर्दा लाग्ने शुल्क हटाइएको जनाएका छन् । एम्ट्र्याकले पनि कैयौँ रेलसेवा स्थगित गरेको छ । 

शैक्षिक संस्थाहरू बन्द भएका छन् । कान्सस राज्यमा मात्रै सयभन्दा बढि विद्यालय बन्द भएका बीबीसीले उल्लेख गरेको छ । सडकमा हिउँ जमेसँगै दुर्घटना पनि बढेको जनाइएको छ । मौसमविद्हरूले यसवर्षको जनवरी महिना सन् २०११ यताकै चिसो हुने जनाएका छन् । आँधी प्रभावित क्षेत्रमा एक सातासम्म चिसो लम्बिने जनाइएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्