दिल्ली विधानसभा निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम सूची सार्वजनिक, केजरीवालले पनि पाए टिकट
काठमाडौं । आम आदमी पार्टीले दिल्ली विधानसभा निर्वाचनका लागि उम्मेदवारहरुको चौथो तथा अन्तिम सूची सार्वजनिक गरेको छ । सूचीमा पार्टीका संयोजक एवम् पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालसहित ३८ जनाको नाम रहेको छ ।
आपले केजरीवाललाई नयाँदिल्लीबाट टिकट दिएको छ । यसैगरी मुख्यमन्त्री आतिशीलाई कालकाजीबाट उम्मेदवार बनाइएको छ । मदिरासम्बन्धी कानुन बनाउने क्रममा भ्रष्टाचार गरेको आरोपमा आर्थिक अपराध हेर्ने निकाय ईडीले केजरीवाललाई २१ मार्चमा पक्राउ गरेको थियो । त्यतिबेला उनी मुख्यमन्त्री पदमा थिए ।
तिहाड जेलमा पाँच महिना बिताएका उनी सर्वोच्चको आदेशमा धरौटीमा रिहा भएका थिए । त्यसको दुई दिनपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि आपकी नेता आतिशी दिल्लीकी मुख्यमन्त्री बनेकी हुन् । अहिले उनै केजरीवाल र आतिशी लगायतका नेताहरुलाई आम आदमी पार्टीले दिल्ली विधान सभा निर्वाचनको प्रतिस्पर्धामा उतार्ने निर्णय गरेको हो ।
टिकट पाएपछि केजरीवालले दिल्ली विधान सभाका सबै ७० सिटमा पार्टीले उम्मेदवार घोषणा गरेको र पार्टी पूरै आत्मविश्वासका साथ चुनाव लड्न लागेको बताएका छन् । केजरीवालले दिल्लीको विकासका लागि दृष्टिकोण, योजना र त्यसलाई लागू गर्ने पढेलेखेका राम्रो टिम रहेको दाबी गरेका छन् ।
