आठ महिनामा झण्डै १० लाख अफगानी शरणार्थी स्वदेश फर्किए
काठमाडौं । पछिल्लो आठ महिनामा इरान, पाकिस्तान र टर्कीएबाट झण्डै १० लाख अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका छन् ।
कुल नौ लाख ७० हजार अफगानी शरणार्थी स्वदेश फर्किएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । शरणार्थी तथा स्वदेश फिर्ता सम्बन्धी मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीका अनुसार झण्डै ७० लाख अफगानी शरणार्थी विदेशमा बस्दै आएका छन् ।
यसमध्ये धेरै अफगानिस्तानको छिमेकी पाकिस्तान र इरानमा रहेका छन् । अफगान कार्यवाहक सरकारले अफगान शरणार्थीहरूलाई विदेशमा शरणार्थीको रूपमा बस्न बन्द गर्न र युद्धले क्षतिग्रस्त आफ्नो देशको पुनर्निर्माणमा योगदान दिन स्वदेश फर्किन बारम्बार आग्रह गरेको छ ।
