आजका प्रमुख सात समाचार
माओवादी बैठक
नेकपा माओवादी केन्द्रले कार्यकारी राष्ट्रपतिको एजेण्डालाई अघि सार्ने भएको छ ।
शनिवार स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपतिको विकल्प नभएको संस्थागत धारणा भएको बताए । प्रवक्ता सापकोटाले अध्यक्ष प्रचण्डले पनि यही कुरा राखेको भन्दै यही आधिकारिक र पार्टीको संस्थागत निर्णय भएको बताए ।
यस्तै अध्यक्ष प्रचण्डले पार्टीलाई सक्षम र सवल बनाउनका लागि शुद्धिकरण अभियान चलाउनुपर्नेमा जोड दिए । संसदीय परिपाटीबाट प्रदूषित भएको भन्दै शुद्धिकरण अभियान चलाउनुपर्नेमा जोड दिनुभएको प्रवक्ता अग्नि सोपकोटाले जानकारी दिए ।
कम्युनिष्ट बामपन्थीहरुलाई एकतावद्ध गर्नका लागि समाजवादी मोर्चामा आवद्ध दलहरुसंग कुराकानी भइरहेको भन्दै प्रचण्डले छिटै परिणाम निस्कने समेत धारणा राख्नुभएको सापकोटाले जानकारी दिए ।
प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पती हिनामिना नगर्ने बताएका छन् ।
शनिबार काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै ओलीले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रतिबद्धता दोहो¥याए ।
देशलाई सुशासन, तिब्र विकाससहित समृद्धि दिनका लागि आफू सदैव लागि परेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राज्यबाट आफूले कुनैपनि कुरा लिन नचाहेको बताए ।
गरिबी, अभावले तड्पिएर जनता रोइरहेका बेला आफूले कसरी भ्रष्टाचार गर्नसक्छु ? भन्दै प्रधानमन्त्री ओलीले प्रतिप्रश्न पनि गरे । प्रधानमन्त्री ओलीले आम जनताका आवश्यकतालाई पूरा गर्न आफूले काम गर्ने पनि बताए ।
विश्वप्रकाश शर्मा
सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरुमा चुप लागेर बस्न नसकिने टिप्पणी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा बोल्दै उहाँले एमालेसँग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने भएकाले आफूले विमतीका विषय बाहिर ल्याउने गरेको पनि स्पष्ट पारे ।
महामन्त्री शर्माले कांग्रेस र एमालेबीच विमतिका विषयमा थाँती राखेर अघि बढ्नका लागि यो गठबन्धन नबनेको जिकिर गरे ।
महामन्त्री शर्माले विमतिका विषयमा प्रधानमन्त्री ओलीलाई महशुस होला भनेर काँग्रेसले सोच्ने र एमालेले पनि शेरबहादुर देउवालाई महशुस होला भनेर सोच्ने हो भने त्यसको कुनै अर्थ नहुने बताए ।
उनले आफूहरुबीच चुप लागेर बस्नका लागि वर्तमान सत्तारुढ गठबन्धन नबनेको दाबी समेत गरे ।
हामफाले
काठमाडौंको महाराजगंजस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको छैटौं तलाबाट हामफालेका युवकको मृत्यु भएको छ ।
शनिबार दिउँसो अस्पतालको छैटौं तलामा रहेको क्याफेको रेलिङबाट हामफालेका काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ बस्ने २१ वर्षीय स्वरूप आचार्य रहेका छन् ।
दिउँसो अस्पताल पुगेपछि छैटौं तलामा रहेको क्याफेमा कफी खाएका र त्यसपछि रेलिङबाट हामफालेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनसार उनी बिरामी भएर अथवा बिरामी भेट्नका लागि अस्पताल गएका थिएनन् ।
उनको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
विक्रम मिस्री
भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री आइतबार नेपाल भ्रमणमा आउँदै छन् ।
परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा मिस्रीले नेपालको दुईदिने औपचारिक भ्रमण गर्न लागेका हुन् ।
दुई देशका विदेश सचिवबीच पारस्परिक हितका विषयलाई अगाडि बढाउने तथा सम्बन्ध थप सुदृढीकरण गर्नेलगायत विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा भारतीय विदेश सचिव मिस्रीले नेपालका विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यो भ्रमण दुई छिमेकी देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता भएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बंगलादेश
बंगलादेशमा अन्तरिम सरकार गठन भए पनि त्यहाँका अल्पसंख्यकहरुमाथि भइरहेको आक्रमणप्रति संयुक्त राष्ट्रसंघले आलोचना गरेको छ ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता फरहान हकले बंगलादेशमा अल्पसंख्यकमाथि भइरहेको आक्रमणप्रति आलोचना गरेका हुन् । प्रवक्ता हकले राष्ट्रसंघ जातीय आधारमा हुने हिंसा र हमलाको विरुद्धमा रहेको जनाउँदै यसलाई अन्त्य गर्न अन्तरिम सरकारलाई आग्रह गरेका छन ।
उनले बंगलादेश र त्यहाँका नागरिकको सुरक्षाका लागि सहयोग गर्न आफूहरु तयार रहेको पनि बताएका छन । त्यस्तै बंगलादेश हिन्दू बौद्ध क्रिश्चियन एकता परिषद्ले बंगलादेशको अन्तरिम सरकारका प्रमुख डा. मोहम्मद युनुसलाई खुला पत्र लेखेर देशमा बढ्दो साम्प्रदायिक हिंसा र उत्पीडनका दोषीलाई कडा कारबाही गर्न माग गरेको छ ।
परिषद्ले हालै देशका विभिन्न भागमा अल्पसंख्यक हिन्दू समुदायमाथि भएका हिंसाका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कडा कारबाहीको माग गरेको हो । बढ्दो हिंसाका कारण अल्पसंख्यक समुदायमा भय र असुरक्षाको वातावरण सिर्जना भएको पत्रमा उल्लेख छ ।
परिषद्का सचिव राणादास गुप्ता र अध्यक्ष वासुदेव धरद्वारा पत्रमार्फत् ताजा अवस्थाप्रति कडा कदम चाल्न र हिंसा रोक्न अन्तरिम सरकारलाई आग्रह गरेको छ । उक्त अवस्थालाई नियन्त्रण गर्न नसके यसले मुलुकको स्थायित्व र अन्तर्राष्ट्रिय छविमा गम्भीर क्षति पु¥याउन सक्ने पत्रमा उल्लेख गरिएको छ ।
टोली काठमाडौंमा
एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न भूटानको लिग च्याम्पियन पारो फुटबल क्लव नेपाल आइपुगेको छ ।
चर्च ब्वाइज युनाइटेड क्लबका अध्यक्ष रुबेन राई र पदाधिकारीहरूको टिमले त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन् । पारो एफसी यो पटक निकै प्रभावशाली रहने अनुमान गरिएको छ ।
उसले जापानका स्टार केसुके होन्डालाई टिममा भित्राएको छ । होन्डाले तीन विश्व कप खेलिसकेका छन् । उनी एशियाकै स्टार खेलाडी हुन् । होन्डाको आगमनसँगै टिम मजबुत बनेको टिमको बुझाई छ ।
होन्डा मात्र होइन यो पटक पारो कुल १२ विदेशी खेलाडी दर्ता गर्दै टिमलाई मजबुत बनाएको छ । क्लवले गरेको लगानी अत्याधिक छ । यही कारण टिमलाई जित्नै पने दबाब समेत रहेको छ ।
