टीआरसी विधेयक पीडितमैत्री छ : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले द्वन्द्वकालमा भएका बलात्कार घटनाका दोषीलाई सजायमा कुनै छुट नहुने बताएका छन । गम्भीर मानव अधिकार उल्लङ्घनका पीडितको राष्ट्रिय सञ्जाल नेपालले काठमाण्डौमा आयोजना गरेको ुटीआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि ऐन कार्यान्वयनमा द्वन्द्व पीडितको सहभागिताु विषयक कार्यक्रममा गृहमन्त्री लेखकले बलात्कार घटनाका दोषीलाई सजाय कम गर्दा समाजमा राम्रो सन्देश नजाने बताए ।
उनले संक्रमणकालीन न्यायसम्बन्धी कानुनमा योभन्दा राम्रो गर्न नसकिने भन्दै टीआरसी विधेयक पीडितमैत्री भएको बताए। उनले यो कानुन कार्यान्वयनमा निकै ठुलो चुनौती रहेको पनि बताए। कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा सहमति खोज्न बनेको कार्यदलका सदस्य जनार्दन शर्माले यो कानुन राष्ट्रिय सहमतिमा टुङ्गिनु ऐतिहासिक रहेको बताए।
यस्तै द्वन्द्वमा बलात्कार पीडित महिला राष्ट्रिय सङ्गठनकी संयोजक देवी खड्काले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा भएको सहमति पीडित र महिलाको आँखाबाट हेर्दा राम्रो र स्वागतयोग्य रहेको बताए। तर यसलाई राजनीतिकरण र व्यवसायीकरण हुनबाट रोक्दै प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । यस्तै गम्भीर मानव अधिकार उल्लङ्घनका पीडितको राष्ट्रिय सञ्जालका संयोजक डा। रामकुमार भण्डारीले कार्यान्वयन प्रक्रियामा पीडितको सहभागिता र स्वामित्व सुनिश्चित गर्न माग गरे ।
