sevenstartv.com २० वैशाख २०८३, आइतवार

आजका सात प्रमुख समाचार

२५ साउन २०८१, शुक्रवार स्टार संवाददाता

सभामुखलाई पत्राचार

टीआरसी विधेयक आगामी संसद् बैठकमा पेस गर्न आग्रहसहित कानुन, न्याय तथा मानवअधिकार समितिले सभामुख देवराज घिमिरेलाई पत्राचार गरेको छ ।

समितिबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल भई पारित भएसँगै सभापति विमला सुवेदीले प्रतिनिधि सभाको आगामी बैठकमा पेस गर्न पत्राचार गर्नुभएको हो । 

प्रतिनिधि सभाको २०८० साल वैशाख १५ गतेको बैठकबाट दफावार छलफलका लागि उक्त विधेयक समितिमा पठाइएको थियो । 

समितिमा विचाराधीन विधेयक शीर्ष तहमै भएको सहमतिअनुसार बिहीबारको बैठकबाट पास भएको हो । प्रतिनिधि सभाको आगामी बैठक साउन २९ गते मंगलबार बस्ने भएको छ ।

कानून समिति

कानून, न्याय तथा मानव अधिकार समितिले नेपालका कारागार र बाल सुधारगृहको अवस्था सुधार गर्न उपसमितिले दिएको सुझावहरुलाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरु र नेपालका कारागारहरुमा रहेका कैदी तथा थुनुवाहरुको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न ३ वटा उपसमिति गठन गरेको थियो । सो उपसमितिहरुले समिति समक्ष प्रतिवेदन पेश गरेको छ । 

प्रतिवेदनहरुमाथि छलफल गरेर समितिले ति प्रतिवेदनले दिएको सुझावहरुलाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो । 

बैठकले मोरङको विराटनगर बाल सुधारगृह तथा मोरङ, सुनसरी र धनकुटा जिल्लाको कारागार अनुगमन उपसमितिको प्रतिवेदन, २०८१ को सुझावलाई कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ । 

वीरगञ्जको बाल सुधार गृह र पर्सा, रौतहट, महोत्तरी र सर्लाही जिल्लाको कारागार अनुगमन उपसमितिको प्रतिवेदन २०८१ र बाँकेको जयन्दु बाल सुधार गृह र बाँके, बर्दिया र सुर्खेत जिल्लाको कारागार अनुगमन उपसमितिको प्रतिवेदन २०८१ मा रहेका सुझावहरु कार्यान्वयन गर्न भनेको हो ।

समितिले उपसमितिको प्रतिवेदनमा नसमेटिएका सुझावहरु पनि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराउने जनाएको छ ।

माओवादी बैठक

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा चार एजेण्डामाथि छलफल हुनेछ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले पछिल्लो राजनीतिक विकसित घटनाक्रमबारे ब्रिफिङ, वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र कार्यभार तथा विविध एजेण्डा तय भएको प्रवक्ता अग्नी सापकोटाले बताउनुभयो । 

स्थायी समिति बैठकअघि बसेको पदाधिकारी बैठकले एजेण्डा तय गरेको थियो । प्रस्तुत भएका एजेण्डामा शनिबारबाट छलफल सुरु हुने उहाँले बताउनुभयो । 

करिब ९ वर्षपछि प्रतिपक्ष भूमिकामा पुगेका माओवादीले समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा निर्णय लिनेछ ।

जनपरिचालन, सङ्गठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने बताइएको छ । यसअघि अध्यक्ष प्रचण्डले सबै पदाधिकारी सदस्यको कुरा सुन्न पाँच दिनसम्म बैठक राख्नुभएको थियो ।

कांग्रेस बैठक

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि पार्टी मुख्यालय सानेपामा जारी रहेको छ ।

शुक्रवार महामन्त्री विश्वप्रकाश शर्माको प्रस्तावमाथि छलफल चल्दै गर्दा नेताहरु पक्ष विपक्षमा विभाजित देखिएका छन् । महामन्त्री शर्माले एउटा व्यक्ति दुईपटक भन्दा बढी प्रधानमन्त्री हुन नपाउने गरी राखेको प्रस्तावका विरुद्धमा पार्टी संस्थापन पक्षका नेताहरू छन् । 

महामन्त्री शर्माले समसामयिक विषयमा प्रतिवेदन पेश गर्नुभएको थियो । प्रतिवेदनमा एउटा व्यक्ति प्रधानमन्त्री दुईपटक भन्दा बढी बन्न नहुने प्रस्ताव छलफलका लागि पेश गर्नुभएको छ । उक्त प्रस्तावको विरोधमा परराष्ट्रमन्त्री आरजु राणा र पार्टी प्रवक्ता डा. प्रकाशशरण महत देखिनुभएको हो । 

शुक्रबार पार्टी बैठकमा बोल्ने क्रममा सभापति शेरबहादुर देउवा पत्नी राणा र प्रवक्ता महतले शर्माको प्रस्तावको विरोध गरेको बताइएको छ । पार्टी प्रवक्ता महतले महामन्त्री शर्माको प्रस्ताव व्यावहारिक नभएको टिप्पणी गर्नुभयो । 

दुईपटक भन्दा प्रधानमन्त्री हुन नमिल्ने भन्दै ल्याइएको प्रस्ताव सभापतिलाई पुनः प्रधानमन्त्री हुन नदिने उद्देश्यले ल्याइएको उहाँले आरोप लगाउनुभयो । 

महामन्त्री शर्माले एक्जिट पोलिसीमा वान÷टु÷थ्री÷फोर अनुसार नेतृत्व बहिर्गमन नीति प्रस्तुत गर्नुभएको छ ।

राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद बढीमा चारपटक हुन पाउने गरी उहाँले प्रतिवेदन बैठकमा छलफलका लागि पेश गर्नुभएको थियो । 

प्रस्तावित एजेण्डालाई पार्टीले पारित गरेमा संवैधानिक व्यवस्था मिलाउन कांग्रेसको पहल हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

सुदूरपश्चिम अधिवेशन

सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही साउन २७ गते अपरान्ह २ बजे प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गर्नुभएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखले शुक्रबार प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गर्नुभएको हो । 

सरकारले दुई दिनअघि मात्रै प्रदेशसभाको चालु चौथो अधिवेशन अन्त्य गरेर बिहीवार राजश्व सङ्कलन सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश प्रदेश प्रमुखबाट बिहीवार नै प्रमाणीकरण भइसकेको छ । अध्यादेश प्रमाणीकरणसँगै आर्थिक वर्ष २०८१÷८२को बजेट पारित हुन नसकेर रोकिएको प्रदेश सरकारको कर सङ्कलन सम्बन्धी काम अगाडि बढेको  छ । 

बजेट पारित हुन नसकेर प्रदेश सरकार मातहतका कार्यालयको कर सङ्कलन लगाएतको काम ठप्प भएको थियो । 

तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेशसभामा असार १ गते प्रस्तुत बजेट पारित हुन नसकेर अलपत्र परेको थियो । मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिइसकेपछि बजेटका विषयमा कारवाही अघि बढाउने तयारी गर्नुभएको छ ।

मौसमी विपद्

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी एक सय ७० जनाको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ५४, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० गरी जम्मा एक सय ७० जनाको मृत्यु भएको हो । 

विपद्मा परी हालसम्म दुई सय तीन जना घाइते भएका छन् । यस्तै, बाढीपहिरामा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४८ जना बेपत्ता छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

न्यायाधीश सिफारिस

न्याय परिषद्ले देशभरका रिक्त ३५ स्थानमा न्यायाधीश सिफारिस गरेको छ ।

शुक्रबार बसेको न्याय परिषद्को बैठकले रिक्त ३५ स्थानमा न्यायाधीश सिफारिस गरेको हो । 

सिफारिस हुनेमा न्याय सेवाका कर्मचारी, सरकारी वकिल समूह र कानुन सेवाका कर्मचारी रहेका छन् । यसअघि जिल्ला न्यायाधीशका लागि परीक्षा लिइएको थियो । 

परीक्षामा कम मात्र व्यक्ति पास हुन सफल भएपछि रिक्त पदमा न्याय परिषद्को बैठकले सिफारिस गरेको हो । यसरी सिफारिस भएका न्यायाधीशहरूलाई परिषद्ले नै विभिन्न जिल्लामा पदस्थापन पनि गर्ने छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्