sevenstartv.com १० चैत २०८२, मङ्गलवार

हिजबुल्लाहको आक्रमणमा ६ इजरायली सैनिकको मृत्यु

२९ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । हिजबुल्लाह विरुद्धको लडाइमा बुधबार इजरायलले ठूलो क्षति बेहोर्नुपरेको छ । युद्धको क्रममा छ इजरायली सैनिकहरू मारिएको मिडिया रिपोर्टमा उल्लेख छ । दक्षिणी लेबनानमा भएको भिडन्तमा इजरायली सैनिकको मृत्यु भएको हो । 

योसँगै लेबनानमा हिजबुल्लाह विरुद्धको लडाइँमा ज्यान गुमाउने इजरायली सैनिकको संख्या ४७ पुगेको छ । इजरायली मिडियाका अनुसार बुधबार इजरायली सैनिकहरूले एउटा गाउँमा छापा मार्दा भवनमा लुकेका चार हिजबुल्लाह लडाकूहरूले सैनिकहरूमाथि गोली प्रहार गरेका थिए । यस हमलामा सैनिकहरूले ज्यान गुमाएका थिए । इजरायली सेनाको जवाफी हमलामा चारै हिजबुल्लाह लडाकुको पनि मृत्यु भएको छ । 

आक्रमणमा ज्यान गुमाएका सैनिकहरू इजरायली सेनाको गोलानी ब्रिगेडको ५१ औँ बटालियनका सिपाही थिए । यसअघि अक्टोबर २ मा लेबनानमा भएको आक्रमणमा आठ इजरायली सैनिकको ज्यान गएको थियो । इजरायली सैनिकको मृत्युमा इजरायली रक्षामन्त्री काट्जले हिजबुल्लाहविरुद्धको युद्धमा कुनै ढिलाइ नहुने बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि सैनिकको मृत्युप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । इजरायलले सेप्टेम्बर २३ मा लेबनानमा हिजबुल्लाह लक्ष्यहरू बमबारी गर्न थालेको थियो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्