आजका सात प्रमुख समाचार
काठमाडौं ।
नेपाली कांग्रेस
नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय अनुमोदन गरेको छ ।
केन्द्रीय कार्यालय सानेपामा बुधबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकले यसअघि केन्द्रीय कार्यसम्पादन समितिले राष्ट्रिय सहमतिको सरकार गठनका लागि गरेको निर्णय अनुमोदन गरेको हो ।
कांग्रेसले नेकपा एमालेसँग गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धमा ७ बुँदे सहमति गरेको थियो । उक्त सहमतिलाई कांग्रेसको केन्द्रीय सम्पादन समितिले पारित गरेको थियो ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा विभिन्न ११ वटा एजेन्डा छलफलका लागि पेस भएका छन् । बैठकमा महासमितिले पारित गरेका विभिन्न प्रस्ताव सुझावसहित अनुमोदन गर्नेदेखि भदौ महिनामा संगठन सुदृढीकरण अभियान चलाउनेसम्मका प्रस्ताव रहेका छन् ।
उनकाअनुसार पार्टीका तर्फबट भदौ १५ देखि मंसिर २५ गतेसम्म संगठन सुदृढीकरण अभियान चलाउने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको छ । यस्तै, बैठकमा पनि संविधान संशोधनको विषयले प्रवेश पाएको छ ।
केन्द्रीय कार्यसमितिमा ११ वटा एजेण्डामाथि धारणा राख्ने क्रममा आमन्त्रित प्रदेश सभापतिहरुले केन्द्रले हस्तक्षेप गरेको गुनासो गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । तर, प्रदेशलाई पार्टी नेतृत्वले कुनै हस्तक्षेप नगरेको उनको जिकिर छ ।
प्रदेश सभापतिपछि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम आजबाट सुरु भएको बताए । बैठक निरन्तर छलफल गरेर आगामी २८ गतेसम्म बैठक सम्पन्न गर्ने तयारी रहेको छ ।
पर्यटनमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई पदमुक्त गराउने विषयमा कानूनी परार्मश भइरहेको बताएका छन् ।
एयर डाईनेष्टीको हवाई जहाज दुर्घटनामा विषयमा बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।
मन्त्री पाण्डेले मातहतका निकायलाई कारबाही गर्ने प्रश्नमा सरकार गम्भिरतापूर्वक लागि परेको बताए । उनले आफूले गरेको निर्णय फेरि अदालतबाट बदर नहोस् भन्नका लागि सो निर्णय लिनुअघि आफूले कानूनी परामर्श अघि बढाएको पनि समितिमा स्पष्टिकरण दिए ।
बैठकमा सत्तारुढ दलका सांसदहरुले नै प्राधिकरणका पदाधिकारीलाई पदमुक्त गर्न मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थिए ।
सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका सञ्चालक समितिका दुई सदस्यलाई नहटाउन अन्तरिम आदेश दिएको छ ।
बिहीबार प्राधिकरणका सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।
साउन १८ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेकपा एकीकृत समाजवादी कोटाका आचार्य र नेकपा माओवादी केन्द्र कोटामा नियुक्त भएका पुनलाई पदबाट हटाएका थिए ।
उनीहरुलाई हटाएर सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरूङ नियुक्त भएका थिए ।
सरकारको निर्णय
सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका, २०८० खारेज गरेको छ ।
मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । मन्त्रीपरिषद् बैठकले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश जनक पाण्डेलाई तोक्ने, प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीलाई नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय समेत गरेको छ ।
यस्तै, सरकारले नेपाल न्याय सेवा कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत आलोकचन्द्र श्रेष्ठ, परासर ढुंगानालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ ।
सरकारले श्रेष्ठलाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा र ढुंगानालाई नेपाल कानून आयोगमा पदस्थापन गरेको हो । सरकारले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीलाई नेपाल प्रहरीको जनपद प्रहरीतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय समेत गरेको छ ।
साउन २३ गते बसेको मन्त्रीपरिषद्को बैठकले नुवाकोटमा भएको डाइनेष्टिको हेलिकप्टर दुर्घटनाको ३० दिनभित्र सिफारिससहितको प्रतिवेदन पेश गर्न नेपाली सेनाका वरिष्ठ पाइलट सुवाष थापाको संयोजकत्वमा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको छ ।
गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले सरकार भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक छिटो पारित गर्न चाहेको बताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सरकार सो विधेयकमा गम्भीर रहेको बताए । अहिलेको विधेयकको विषयवस्तु, भ्रष्टाचारका बारेमा सरकारको शुन्य सहनशिलता, भ्रष्टाचार नियन्त्रण गर्नका निमित्त सरकारले आफ्ना सम्पूर्ण शक्तिहरु लगाउने बताए ।
युनुस स्वदेश
नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस कार्यबाहक सरकारको नेतृत्व गर्न स्वदेश फर्किएका छन् ।
आरक्षण विरोधी आन्दोलनबाट सुरु भएको बङ्गलादेशको राजनैतिक असन्तुष्टिले प्रधानमन्त्री शेख हसिनालाई राजिनामा गरी देश छोड्न बाध्य बनाएपछि विद्यार्थी नेताहरूको प्रस्तावमा सरकारको नेतृत्व गर्ने सहमतिका साथ उनी स्वदेश फर्किएका हुन् ।
उनले बङ्गलादेशमा शेख हसिनाको सरकार अपदस्थ गर्ने क्रममा भएको लामो प्रदर्शनमा मारिएका व्यक्तिप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनीहरूको बलिदानले देशलाई ‘दोस्रो स्वतन्त्रता’ दिलाएको बताएका छन ।
कामचलाउ सरकारको नेतृत्व गर्न स्वदेश फर्केलगत्तै युनुसले आजको दिन आफूहरुको लागि गौरवपूर्ण दिन रहेको जिकिर गरेका छन् । ८४ वर्षीय युनुसले बिहीबार साँझ देशको नयाँ नेताका रूपमा सपथ लिएका छन् ।
युनुसले ‘केही महिनाभित्र’ चुनाव गराउन चाहेको बताउदै मुलुकले दोस्रो पटक स्वतन्त्रता प्राप्त गरेको उल्लेख समेत गरे । उनले छिट्टै आफ्नो संलग्नतामा विजय उत्सव मनाउने जिकिर समेत गरेका छन् ।
खेलाडी सम्मान
काठमाडौं महानगरपालिकाले काभा महिला भलिबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय भलिबल टीमलाई नगद पुरस्कारले सम्मानित गरेको छ ।
महानगरले बिहीबार टीमका प्रशिक्षक, खेलाडी तथा अफिसियलहरुलाई पुरस्कृत गरेको हो । राष्ट्रिय टीमका प्रत्येक खेलाडी र प्रशिक्षक गरी १५ जनाले १–१ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै, तीन जना अफिसियललाई ५०–५० हजार रुपैयाँ प्रदान गरिएको छ । पुरस्कार वितरण कार्यक्रममा मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोल तथा महानगरका कर्मचारीहरू उपस्थित थिए । खेलाडीहरूलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो ।।
