हवाई उड्डयन क्षेत्रको समस्या र समाधानका लागि आयोग गठनको तयारी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई उड्डयनको क्षेत्रमा अध्ययन गर्नका लागि सरकारले आयोग बनाउन लागेको बताएका छन् ।
आज सिंहदरबारमा संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा एयर डाईनेष्टी हेलिकप्टर दुर्घटनाबारे जानकारी गराउँदै उनले सो कुरा बताएका हुन् ।
बुधवार हेलिकप्टर दुर्घटनामा परी चालक दलका सदस्यसहित ५ जनाको ज्यान गएको थियो । त्यसलगत्तै बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले सो दुर्घटनाको छानविनका लागि ३ सदस्यीय छानविन समिति गठन गरेको थियो ।
घटना विशेषको छानविनका लागि सो समिति गठन गरेपनि समग्र हवाई उड्डयनको क्षेत्रमा देखिएको समस्या समाधानका लागि पनि प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री परिषद बैठकले मन्त्रालयलाई सो क्षेत्रको समग्र अध्ययनका लागि आयोग नै गठन गर्न निर्देशन दिएको मन्त्री पाण्डेले बताए ।
उनले गएराति पनि अबेरसम्म प्रधानमन्त्री ओलीले आफू र मन्त्रालयका सचिवसँग सो विषयमा छलफल गरी त्यस क्षेत्रको समस्या समाधान हुनेगरी आयोग बनाउन निर्देशन दिएको बताएका छन् । मन्त्री पाण्डेले अब बस्ने मन्त्रीपरिषद् बैठकले सो आयोग बनाउने दाबी पनि गरे ।
