राष्ट्रिय भू-संरक्षण दिवस जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज राष्ट्रिय भू-संरक्षण दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
दिवसका अवसरमा आज वन तथा वातावरण मन्त्रालय लगायत विभिन्न सङ्घ संस्थाले अन्तरक्रियाका साथै वृक्षारोपण गर्ने कार्यक्रमको आयोजना गरेका छन् ।
बाढी, पहिरो, भू-क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन एवम् भू-क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि दिवस मनाउन थालिएको हो ।
वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावका दृष्टिकोणले नेपाल उच्च जोखिममा रहेको छ । संवेदनशील भू-धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक बनावटका कारणले गर्दा मानवजन्य तथा प्राकृतिक प्रकोपको प्रभावबाट ठूलो जनधनको क्षति र वातावरणीय समस्या बेहोर्नुपरेको छ ।
