आजका प्रमुख सात समाचार
हेलिकप्टर दुर्घटना
एयर डाइनेस्टीको कल साइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनामा पाइलटसहित पाँचजनाको मुत्यु भएको छ ।
बुधबार दिउँसो १ः५४ बजे भक्तपुरको नलिन्चोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो ।
हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मृत्यु हुनेमा पाइलट मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहेका छन् । सो दुर्घटनामा परी मृत्यु भएका मृतकहरुको शव सङ्कलन गरि परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याएको छ ।
सरकारको निर्णय
सरकारले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनाको छानबिनका लागि समिति बनाएको छ ।
नेपाली सेनाका वरिष्ठ पाइलट थापाको नेतृत्वमा तीन सदस्यीय जाँच आयोग गठन गरेको हो । आयोगले काम सुरु गरेको ३० दिनमा प्रतिवेदन बुझाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
कांग्रेस बैठक
नेपाली कांग्रेसका केन्दीय समिति बैठकले सय दिने संगठनात्मक अभियान भदौ १५ गतेबाट मंसिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत गरिएको छ ।
बुधवार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा विभिन्न ११ वटा विषयवस्तुहरु प्रवेश भएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताइ । जसमा महासमितिको बैठकले विभिन्न प्रश्तावमा छलफल गरी प्रस्तावहरु केन्द्रिय समितिले परिमार्जनसहित पास गर्ने निर्णय भएअनुसार केन्द्रिय समितिमा पदाधिकारीहरुले तयार गरेको परिमार्जन प्रश्ताव उपर छलफल गर्ने प्रस्ताव छ ।
उनले राष्ट्रिय सहमतिको सरकारका सम्बन्धमा कार्य सम्पादन समितिले गरेको निर्णयलाई अनुमोदन गरेको बताए । उनले भ्रातृ संगठनहरुको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रश्तावबारे पनि छलफल हुने बताए । उनले अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले अनुशासन सम्बन्धी विषयमा भएका प्रगति विवरण प्रश्तुत गर्नुभएको पनि जानकारी दिए ।
उनले पार्टीका विभिन्न रिक्त पदहरुको पूर्ति गर्ने भन्ने बारेमा पनि छलफलको प्रश्तावको विषय बनेको बताए ।
क्रियाशिल सदस्यताको नयाँ र नविकरणको विषयमा पनि बिहीवारको बैठकमा छलफल हुने बताए । विदेशस्थित जनसम्पर्क समितिहरु विधान अनुकुल र त्यहाँको व्यवहारिकतालाई मध्यनजर राखेर के गर्न सकिन्छ भन्ने विषय पनि छलफलको विषय बनेको बताए ।
बैठक बिहीवार १ बजेसम्मका लागि स्थगित भएको छ । बैठकमा नुवाकोटको सूर्यचौरमा भएको हेलिकप्टर दुर्घटनााम दुःख प्रकट गरेको छ । साथै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना प्रकट गरेको छ । बंगलादेशमा भएको राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको बताए ।
अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका नेताहरुलाई एक ठाउँमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बुधवार नेकपा (माओवादी केन्द्र) हुम्लाको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीका कार्यकर्ताहरुलाई पार्टी फुट्छ की भन्ने चिन्ता नलिन आग्रह गरे । उनले अब फुटेर गएका नेताहरु पनि एक ठाउँमा आउने गृहकार्य भइरहेको जिकिर गरे ।
अध्यक्ष दाहालले माओवादीबाट विगतमा छुट्टिएकाहरु एकता गर्नुको विकल्प नरहेको भन्दै पार्टी एकताका लागि आइरहेको बताए ।
अध्यक्ष दाहालले नयाँ कार्ययोजना र कार्यक्रमसहित देशव्यापी अभियानमा जाने संकल्प आजको आवश्यकता भएको बताए ।
वनमन्त्री
वन तथा वातावरणमन्त्री ऐनबहादुर साहीले विद्यमान वन्यजन्तु ऐन संशोधन गरी विकास र जनमैत्री बनाइने बताएका छन् ।
संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा मन्त्री साहीले बाँदरको आतंकले ग्रामिण क्षेत्रमा जनताहरु आक्रान्त भएर सुत्न समेत नपाउने अवस्था रहेको भन्दै विद्यमान रहेका ऐन कानूनलाई संशोधन गर्ने बताए ।
उनले सरकार निरन्तर रुपमा वन र वन्यजन्तु ऐनलाई जनतामैत्री बनाउने पक्षमा रहेको उल्लेख गरे । उनले वनसँग सम्बधित सरकारी निकायहरु पनि विकास जनमैत्री हुनुपर्ने पक्षमा वर्तमान सरकार रहेको बताए ।
उनले बाँदर लगायत अन्य वन्यजन्तुहरु नियन्त्रणका विषयमा मुलुकको संविधान र अन्तर्राष्ट्रिय कानूनहरुलाई मध्यनजर गरेर यो समस्या समाधान गरिने बताए । उनले बाँदर,बाघ लगायतलाई नियन्त्रण र क्षति न्युनिकरण समाधानका विकल्पहरुको खोजि भइरहेको बताए ।
मुहम्मद युनुस
बंगलादेशका नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस बिहीबार स्वदेश फर्किने भएका छन् ।
बङ्गलादेशमा माइक्रोफाइनान्सका संस्थापक मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्ने प्रस्तावपछि उनी बिहीबार ढाका फर्कने कार्यक्रम रहेको उहाँको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हाल युरोपमा रहेका ८४ वर्षीय युनुस बिहीबार दिउँसो २ः१० बजे राजधानी ढाका आइपुग्ने उनको कार्यालयले जानकारी गराएको हो ।
बङ्गलादेशका राष्ट्रपतिले बुधबार नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकिएको घोषणा गरेका छन् ।
बङ्गलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि उनलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिएको हो । राष्ट्रपति मोहम्मद शाहाबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखहरू र विद्यार्थी नेतासँगको बैठकपछि यो निर्णय गरिएको हो ।
चुक्यो नेपाल
नेपाल काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि रक्षा गर्नबाट चुकेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपाललाई ३–२ सेटले पराजित गर्दै भारतले काभा भलिबलको उपाधि जितेको हो ।
पाँचौं सेटमा भारतले १५–५ ले जित निकाल्यो । पहिलो सेट २५–२३ ले जित निकालेको नेपालले दोस्रो सेट १४–२५ ले गुमाएको थियो ।
तेस्रो सेटमा २५–२२ ले जित हासिल गरेपनि नेपालले अग्रता जोगाउन सकेन ।
चौथो सेटमा भारतले २५–२१ ले जित निकाल्दा खेल पाचौं सेटमा धकेलिएको थियो । पाँचौ सेटमा सुरुदेखि नै अग्रता लिदै भारतले उपाधि रक्षा गर्यो ।
