नेपाललाई शान्ति चाहिएको छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शान्ति चाहिएको बताएका छन् । आज टिआरसी विधेयक सहमतिका लागि बनेको कार्यदलको प्रतिवेदन बुझ्दै उनले कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् भन्नेमा सरकार सजग रहेको बताएका हुन् ।
उनले विधिको शासनभन्दा पर जान नसक्ने पनि बताए। उनले डेमोक्रेसी नहुँदा, अधिनायकवाद हुँदा, तानाशाही हुँदा, संवैधानिक बाटो, शान्तिपूर्ण बाटो अवरुद्ध हुँदा र लोकतान्त्रिक माध्यमबाट परिवर्तन र अग्रगमन सम्भव नहुँदा जनताले परिवर्तनका लागि आन्दोलन गर्दै आए पनि अहिले लोकतान्त्रिक बाटो खुला रहेको बताएका छन् ।
उनले भने, ‘नेपाललाई शान्ति चाहिएको छ र कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस्। त्यसमा हामी सजग छौँ। द्वन्द्वमा नेपाललाई फस्न दिनु हुँदैन, कुनै पनि प्रकारको। यस्तो कुराहरु देशको हितमा हुँदैन। हामी विधिको शासन भन्दा पर जान सक्दैनौँ। डेमोक्रेसी, विधिको शासन, मुख्य कुरा यी हुन्। विधिको शासन। विधिभन्दा बाहिर गएर गरिने कुरा त्यो उचित हुँदैनन्। हाम्रो अभ्यासबाट पनि हामीले हेरिसक्यौँ, देखिसक्यौँ। विभिन्न अभ्यासहरु भए पनि विगतमा। जब लोकतान्त्रिक बाटो खुला छ भने अरु कुनै किसिमका कुरा स्वीकार्य हुँदैनन् ।’

















