sevenstartv.com २१ वैशाख २०८३, सोमवार

आजका प्रमुख सात समाचार

२२ साउन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं ।

नेपाल फाइनलमा

नेपाल घरेलु मैदानमा जारी काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा पुगेको छ । 

मंगलबार भएको सेमिफाइनलमा नेपालले इरानलाई सोझो सेटमा पराजित गर्दै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो । नेपालले खेल २५–२१, २८–२६ र २५–२० ले जित्यो ।

नेपालले उपाधिका लागि भारतसँग खेल्ने छ । भारतले मंगलबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई हराएको थियो ।  नेपाल र भारत यसअघि लिग चरणमा पनि भिडेका थिए जुन खेल घरेलु टोलीले जितेको थियो । अन्तर्राष्ट्रिय महिला भलिबलमा भारतमाथी नेपालले पहिलोपटक जित हात पारेको थियो ।

मधेशमा मनपरि 

मधेश प्रदेशमा पुनः सरकार पुर्नगठन भएको छ । मंगलबार मात्रै सरकारमा ५ जना राज्यमन्त्री थप भएका छन् ।

मुख्यमन्त्री सतिश कुमार सिंहले पुनः मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेपाली कांग्रेसबाट २ र नेकपा एमाले, जनमत पार्टी र लोसपाका एक—एक राज्यमन्त्री थप गरेका हुन् । 

एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मा मो. जयद आलम, कांग्रेससबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रेखा ठाकुर, उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा निलम कुाारी रजक नियुक्त भएका छन् । 

यस्तै लोसपाबाट शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा रामबाबु यादव र जनमतबाट उद्योग पर्यटन राज्यमन्त्री सम्भु साह नियुक्त भएका छन् । यो संगै मधेश सरकारको मन्त्रिपरिषद अहिलेसम्मकै ठूलो आकारको अर्थात २० सदस्यीय बनेको छ । मधेशमा १२ मन्त्रालय छ । 

जनमतले मुख्यमन्त्री बाहेक २, कांग्रेस र एमालेले ४–४ र लोसपाले एक मन्त्रालय सम्हालेको छ । यसअघि नै एमालेका २ र जनमतका एक राज्यमन्त्री नियुक्त भइसकेका थिए ।

 

बाढी पहिरोको वितण्डा

पहिरोमा पुरिएर बागलुङमा ८ र गुल्मीमा ४ जनाको मृत्यु भएको छ ।

बागलुङको बडिगाड गाउँपालिका–९ र १० मा गएको पहिरोमा एकै दिन ८ जनाले ज्यान गुमाएका हुन् । दर्लिङखोलामा पहिरोले वडा नम्बर ९ मा एउटा र १० स्थित आरुपाटामा तीनवटा घर पुरिएका थिए ।

पहिरोमा परी चारजना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीका अनुसार, मृत्यु हुनेमा बडिगाड गाउँपालिका–९ मा १५ वर्षीय विधान परियार र २४ वर्षीय गंगा बस्नेत छन् । त्यस्तै, वडा नं १० मा ७ वर्षका जुम्ल्याहा मालती बुढा र मधु बुढा, १३ वर्षका मनोज बुढा र १२ वर्षका अमन बुढा, सञ्जु विककी ६ वर्षीया छोरी, ५९ वर्षीया मैतीदेवी विकको मृत्यु भएको छ ।

पहिरोमा परेर घाइते हुनेहरूमा ४६ वर्षीया संगीता बुढा, ५९ वर्षीया सुमित्रा विक, ३२ वर्षकी सीता थापा र ४२ वर्षीय मंगलसिंह बुढा घाइते छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

उता गुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौनामा पहिरोले २ वटा घर पुर्दा ४ जनाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए ।

पहिरोमा पुरिएर ४८ वर्षका गोरे बिक, ६७ वर्षका हुमुक बिक, साढे दुई वर्षका रियन्सा बिक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर २३ वर्षकी मुना विक र ३२ वर्षकी विष्णु विकलाई स्थानीयले उद्धार गरिएको प्रहरीले जनाएको छ । मङ्गलवार बिहान घरमाथिबाट लेदोसहितको पहिरोले विष्णु विकको घर र हुकुम विकको घर पुरिएको थियो ।।

कानूनमन्त्रीको आग्रह

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले समितिमा विचाराधिन रहेका विधेयकहरु संसदमा छिटो भन्दा छिटो संसदमा पेश गर्न आग्रह गरेका छन् । 

मंगलवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले संसदमा बिजनेश नरहेको भन्दै समितिमा रहेका विधेयकहरु चाँडो भन्दा चाँडो छलफल गरी पेश गर्न आग्रह गरे ।

उनले विधेयकहरु संसदमा पठाउन दिनदिनै बैठक राख्न पनि आग्रह गरे । उनले विचाराधिन विधेयकका विषयहरु टुंग्याउन लगातार बैठक राख्नुको विकल्प नरहेको बताए । 

मन्त्री चौरसियाले केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकमा छलफल राख्न पनि आग्रह गरे । 

प्रधानमन्त्रीको भनाई

 प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको अन्त्य गर्ने कुरामा सरकारको प्रतिवद्ध रहेको बताएका छन् । राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै भ्रष्टाचारको विषयमा सरकारले कुनै कम्प्रमाइज नगर्ने प्रष्ट्याए ।

आजको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

उनले भने, ‘भ्रष्टाचारमा कसैको अनुहार हेरेर सरकारले क्षमा गर्ने काम गर्दैन । अहिलेको सरकार प्रतिशोधका लागि होइन । अर्थतन्त्र र समाजको सुधार ल्याउनको लागि हो । यसले कसैप्रति आग्रह पूर्वाग्रह राखेर कसैलाई दुस्ख दिँदैन । त्यो मनसाय छैन । कसैले भ्रष्टाचार गर्‍यो भने कोही उम्किन पाइँदैन ।’

उनले कानूनको नजरमा सबैको बराबरी हुने बताए ।

सुनिल शर्मा

नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले सरकारले नागरिकले श्वास फेर्ने हावामा कर लगाउने कानून मात्रै ल्याउन बाँकी रहेको भन्दै व्यंग्य गरेका छन् । 

कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यआफूले विभिन्न विषयमा नजिकबाट नियालिरहेको भन्दै सरकारले खानेपानी र स्वच्छ हावा निःशुल्क रुपमा पाउने पहिलो अधिकार भएपनि पानीमा पनि करमाथि कर बढाएको बताए 

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा उनले यस्तो धारणा राखे । 

व्यवसायिक प्रयोजनका लागि जमिन मुनिको पानी उपभोग गर्न दस्तुर तिर्नुपर्ने व्यवस्था गर्नका लागि प्रस्तावित व्यवस्थामा छलफल भरहेको विषयमा कांग्रेस सांसद शर्माको उक्त धारणा आएको हो ।

सांसद शर्माले हरेक क्षेत्रमा दोहोरो–तेहोरो कर लगाउँदा व्यवसायिक वातावरण बिग्रिरहेको बताए ।

मिडिया काउन्सिल विधेयक

मिडिया काउन्सिल विधेयक २०८० को नाम आम सञ्चार परिषद् विधेयक राखिने संसदीय समितिमा सहमती जुटेको छ ।

विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल भएको थियो । सोही बैठकमा मिडिया काउन्सिल विधेयकको नामलाई आम सञ्चार परिषद् विधेयक राख्ने सहमति जुटेको हो । 

समिति सदस्यहरुले मिडिया काउन्सिल नाम अंग्रेजीबाट भएको भन्दै नामलाई नेपालीकरण गर्नका लागि भनेर संशोधन प्रस्ताव समेत हालेका थिए । बैठकमा बोल्दै पनि सदस्यहरुले सो नामलाई नेपालीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि नामलाई नेपालीकरण गर्न सरकार तयार रहेको बताएका थिए । 

यससँगै मिडिया काउन्सिल विधेयकको नाम आमसञ्चार परिषद् विधेयक राख्न सहमति जुटेको समिति सभापति जयन्तीदेवी राईले घोषणा गरिन् ।

अब परिवर्तित नाम अनुरुप बाँकी प्रक्रिया अगाडी बढाउने उनले बताइन् । विधेयकभित्रको विषयवस्तुहरु भने परिवर्तन नहुने उनको भनाई छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्