जाजरकोटमा बोलेरो जिप दुर्घटना : चालकको मृत्यु,बाँकी सबै घाइते
काठमाडौं । जाजरकोटको भेरी नगरपालिका-६ गंजमा भएको बोलेरो जिप दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
जाजरकोट सदरमुकाम खलंगाबाट वडा नम्बर ६ नेटातर्फ जाँदै गरेको ग १ ज ७७११ डबल क्याप भएकोजिपमा १७ जना सवार रहेकोमा चालक भेरी नगरपालिका-६ गंगटियाका ३५ वर्षीय मानबहादुर वलीको मृत्यु हो । जिप सडकबाट ४०० मिटर तल खसेको प्रहरीले बताएको छ ।
जाजरकोट भेरी नगरपालिका-६ की २८ वर्षीया सपना बिक सार्की, ३५ वर्षीया भूमिका शाही, १९ वर्षीया दुर्गा पुन, १९ वर्षीया बिन्दु शाही, ५५ वर्षीया मोती लुहार, १७ वर्षीया सीता पुन घाइते भएका छन् । २१ वर्षीया धनसरा खड्का, ८० वर्षीय कलिमान खत्री, २८ वर्षीया भूमिकला राना घर्ती घाइते भएका छन्।
सामान्य चोट लाग्नेहरुमा ४ महिनाका प्रज्वल घर्ती, ३६ वर्षीया कल्पना खत्री, ३३ वर्षीया अस्मिता खत्री, ३१ वर्षीया पार्वती उपाध्याय र ४० वर्षीया हीरा सार्की रहेका छन्। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
