ट्रम्प पुगेको स्थानमा फेरि चल्यो गोली
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति तथा आगामी नोभेम्बर ५ को चुनावका रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरी हमलाको प्रयास भएको छ । फ्लोरिडाको वेस्ट पाम बीचमा रहेको उनको गल्फ कोर्समा गल्फ खेलिरहेको बेला गोली चलेको हो ।
ट्रम्पको अभियानको मुख्यालय पनि सोही गल्फ कोर्सको परिसरमा रहेकाले ती व्यक्तिले ट्रम्पलाई नै निशाना बनाउन सो स्थलमा आएको मिडिया रिपोर्टमा उल्लेख छ । राइफल बोकेका रायन वेस्ली रोथ नाम गरेका एक व्यक्तिलाई पक्राउ गरिएको र यस विषयमा अनुसन्धान भइरहेको सिबिआईले जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
यसैबीच पूर्व राष्ट्रपति तथा ह्वाइट हाउसका उम्मेदवार ट्रम्प आफैँले आफू सुरक्षित र स्वस्थ रहेको जानकारी दिएका छन् । आफ्ना समर्थकहरूलाई दिएको सन्देशमा डोनाल्ड ट्रम्पले आफू सुरक्षित रहेको बताएका छन् । मेरो वरिपरि गोलीको आवाज सुनियो, तर घटनाको बारेमा अफवाहहरू फैलनु अघि, आफू ठिक र सुरक्षित रहेको जानकारी गराएका छन् । उनले आफूलाई चुनावी अभियानबाट कसैले हटाउन नसक्ने बताए ।
