उपसभामुख हटाउने कांग्रेस–एमालेको प्रयासमा रास्वपाको आपत्ति
काठमाडौं । आफ्नो पार्टीबाट संसदमा प्रतिनिधित्व गरेकी उपसभामुख पदमुक्त हुने सम्भावना बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आपत्ति जनाएको छ । उपसभामुख रानालाई हटाउन नेपाली काँग्रेस र नेकपा (एमाले) हस्ताक्षर संकलन गरेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको हो ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले संसद र संवैधानिक निकायमाथि अपमान गरिरहेको भन्दै आपत्ति जनाए ।
उनले सरकारको तर्फबाट नै सम्मनित संसद र लोकतन्त्रका लागि ठूलो खतरा भएको टिप्पणी गरे । उनले बालुवाटार र सिंहदरबारमा भएको प्रदर्शनले सम्मानित सदनलाई आहत पारेको टिप्पणी समेत गरे ।
‘हिजो बालुवाटार र सिंहदरबारमा जुन किसिमको प्रदर्शन भयो त्यसले सम्मानित सदनलाई चोट पुर्याएको छ सभामुख महोदय । लोकतन्त्रको विरासत धानेका भन्नेहरुले सम्मानित सदनको उपसभामुख जस्तो जिम्मेवार पदमाथि जुन तहको अपमूल्यन भएको छ यो लोकतन्त्रको लागि सबैभन्दा ठूलो खतरा हो भन्ने हाम्रो पार्टीको ठम्याई हो सभामुख महोदय’ उनले भने ।
लोकतन्त्रको बिरासत धानेका भन्नेहरूले उपसभामुख जस्तो जिम्मेवार पदमाथि गरेको अवमूल्यन लोकतन्त्रकै लागि सबैभन्दा ठूलो खतरा भएको उनको भनाइ छ । उनले नेपाली काँग्रेसलाई विपी कोईरालाको आदर्श स्मरण गर्न तथा एमालेका नेताहरूलाई सामन्तवादविरुद्ध मदन भण्डारीको दृष्टिकोण स्मरण गर्न आग्रह गरे ।
‘लोकतन्त्र बचाउनको लागि हार्न तयार हुने विपी कोईरालालाई फर्केर हेर्नुस् काँग्रेसका नेताज्यूहरु । म कम्रेड मदन भण्डारीलाई सम्झन चाहन्छु । सामन्तवाद मात्रै होइन पार्टीभित्र हाबी हुने सामन्तवादले पनि हामीले उभो लाग्न दिँदैन भन्ने कम्रेड मदन भण्डारीलाई सम्झन म एमालेका नेताहरुलाई अनुरोध गर्न चाहन्छु’ उनले भने ।
उपसभामुखको पदमा रहेका जनजाति महिलाप्रति देखिएको असम्मानको आलोचना गर्दै सांसदहरूको विवेकलाई बन्धक नबनाउन चेतावनी दिए । ‘सांसदको विवेकलाई बन्दी नबनाउँ, सांसद आफैंमा सार्वभौम हो । आज राष्ट्रिय स्वतन्त्र पार्टीलाई निषेश गर्न खोजिदैछ । नयाँहरुलाई निषेध गर्न सकिदैन’ उनले भने ।
उनले कार्यपालिकाबाट व्यवस्थापिकामाथि भइरहेको निरन्तरको आक्रमण अब टुलुटुलु हेरेर नबस्ने चेतावनी समेत दिए ।
