कांग्रेस–एमालेले आज पनि हस्ताक्षर अभियान जारी राख्ने, उपसभामुख अमेरिकामा
काठमाडौं । उपसभामुख इन्दिरा रानालाई जसरी पनि पदमुक्त गर्न कस्सिएका नेपाली कांग्रेस र नेकपा (एमाले)का सांसदहरुको हस्ताक्षर संकलन अभियान आज पनि जारी रहने भ्रएको छ । अमेरिका भ्रमणमा रहेकी उपसभामुख रानाविरुद्ध महाभियोग लगाउने प्रयोजनका लागि मंगलबारबाट सुरुगरिएको हस्ताक्षर अभियानले बुधबार पनि निरन्तरता पाउने भएको हो ।
वर्तमान सत्ता गठबन्धन निर्माण भए लगत्तै नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानालाई पदमुक्त गर्ने प्रयास गरे पनि सफल बन्न सकेका थिएनन् । यद्यपी अहिले भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि सहमति लिएपछि फेरी पनि प्रकृया अगाडि बढेको छ । मंगलबार बिहानबाट दुई दलले हस्ताक्षर अभियान सुरु गरेका छन् ।
नेपालको संविधान २०७२ को धारा ९१ (ग)मा सभामुख र उपसभामुखलाई संसदको दुई तिहाइ बहुमतले पदमुक्त गर्न सक्ने प्रावधान राखिएको छ । उक्त व्यवस्थालाई टेकेर उपसभामुख रानालाई महाभियोग लगाएर पदमुक्त गर्न प्रधानमन्त्री ओलीले आफ्नो पार्टी र नेपाली कांग्रेसभित्र दबाब बढाएका छन् । उपसभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्नका लागि एक जम्मा एक चौथाइ सांसदको समर्थन भए पुग्छ भने उक्त पारित पारित गर्नका लागि भने दुई तिहाइ सांसदको समर्थन आवश्यक पर्छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा हाल नेपाली कांग्रेसका ८८ र नेकपा एमालेका ७९ जना सांसद रहेका छन् । दुई दलका सांसदहरुको संख्या जोड्दा जम्मा १६७ मात्र पुग्छ । दुई तिहाई सांसदको संख्या पुर्याउनका लागि अझै १६ जना सांसदको समर्थन आवश्यक पर्छ ।
