भारतीय विदेशसचिव आइतबार काठमाडौँ आउँदै
काठमाडौँ । भारती विदेशसचिव विक्रम मिश्री आइतबार काठमाडौं आउनु हुने भएको छ ।
विदेशसचिव मिश्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन काठमाडौं आउन लाग्नु भएको हो । विदेशसचिव मिश्री परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने भ्रमणको लागि नेपाल आउन लाग्नु भएको हो । नेपाल बसाइको क्रममा विदेशसचिव मिश्रीले प्रधानमन्त्र ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
एक वर्ष अवधिमा भारतीय विदेश सचिव मिश्री यो दोस्रो पटक नेपाल भ्रमण हो । विदेशसचिव मिश्रीको भ्रमणमा खासगरी भारतद्वारा लगानी गरिएका विभिन्न विकास आयोजनाको प्रगतिबारे छलफल गर्ने कार्यक्रम राखिएको छ ।
विदेश सचिव मिश्री अघिल्लो वर्ष पनि साउन तेस्रो साता नेपाल आउनु भएको थियो । त्यसबेला ओली प्रधानमन्त्री बनेको एक महिना मात्रै भएको थियो । मुलुकमा चौथो पटक प्रधानमन्त्री बन्नुभएका ओलीले भदौ अन्तिम साता भारतको औपचारिक भ्रमण गर्ने तयारी भइरहेको छ । त्यसको लागि सचिवस्तरीय संयन्त्रको बैठक समेत बसिसकेको छ ।
