बागमती प्रदेशमा कांग्रेसबाट पाँच मन्त्री नियुक्त
काठमाडौँ । पार्टीभित्रको आन्तरिक किचलोको बाबजुद नेपाली कांग्रेसबाट बागमती सरकारमा थप पाँच मन्त्री नियुक्त भएका छन् ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार पाँच मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका हुन् । साउन २० गते आफूसहित ८ मन्त्रीको शपथ लिनुभएका बानियाँले दोस्रो चरणमा आफ्नै दल कांग्रेसका पाँच जनालाई मन्त्री बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
मुख्यमन्त्री बानियाँले सामाजिक विकास मन्त्रालयमा काभ्रेका कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका प्रभात तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी बिनु रायमाझी पौंडेललाई नियुक्त गरेका छन् ।
साउन २० गते कांग्रेसबाट खानेपानी, उर्जा तथा सिचाईं मन्त्रालयमा सिन्धुपाल्चोकका कृष्ण तामाङ र जिम्मेवारी पछि तोकिने गरि धादिङका शिवराज अधिकारी विना विभागीय मन्त्री नियुक्त भएका थिए। कांग्रेसभित्र मन्त्रालय भागबण्डा हुँदा अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यसैगरी साउन २० मै नेकपा एमालेबाट सरकारमा नेतृत्व गर्दै ललितपुरका मधुसुदन पौंडेललाई कृषि तथा पशुपन्छी विकास, काठमाडौंका डा। दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास, रसुवाका भरत केसीलाई वन तथा वातावरण, काठमाडौंकै जयराथ थापालाई श्रम, रोजगार तथा यातायात, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
