समसामयिक परिस्थितिबारे छलफल गर्न समाजवादी मोर्चाको बैठक बस्दै
काठमाडौं । मुलुकको राजनीतिसहित समसामयिक परिस्थितिबारे छलफल गर्न समाजवाद मोर्चाको बैठक आज बस्दैछ ।
मोर्चाको बैठक दिउँसो ३ बजे नेकपा एकीकृत समाजवादी मुख्यालय आलोकनगरमा बस्न लागेको हो ।
उपेन्द्र यादव नेतृत्वको जपसा नेपालले यसअघि नै मोर्चा छोडेपछि त्यसमा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयका अनुसार आज बैठकमा समसामयिक राजनीति र मोर्चाको गतिविधिका विषयमा छलफल हुनेछ ।
