sevenstartv.com ११ असार २०८३, बिहिवार

विद्यालाई एमालेमा छेक्न ओलीको हरप्रयास

११ साउन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्किन नदिन हरसम्भव कोशिस गरिरहेका छन् ।

अध्यक्ष ओलीले च्यासल बैठकमा सहभागी नेताहरूलाई बालुवाटारमै बोलाएर पूर्वराष्ट्रपतिका लागि पार्टीभित्र कुनै स्थान नदिन निर्देशन दिइरहेका छन् । गत असार १४ गते एमालेको राजनीतिमा आउने घोषणा गरेकी भण्डारीको संगठित सदस्यता समेत साउन ६ गतेको केन्द्रीय कमिटीबाट निष्क्रिय बनाइसकेका ओली अहिले आन्तरिक छलफलमा छन् ।

बिहीबार बबरमहलमा पत्रकार सम्मेलन गरेर पूर्वराष्ट्रपति भण्डारीले आफूलाई एमालेकी पूर्वउपाध्यक्षका रुपमा प्रस्तुत गरेयता प्रधानमन्त्री ओलीले प्रदेश कमिटी र भूगोलका नेताहरूलाई बालुवाटार बोलाउँदै छेक्ने अभियान थालेका हुन् । 

ओलीले पूर्वराष्ट्रपतिका लागि कुनै पनि बैठक, फोरम र छलफलका लागि स्थान नदिन निर्देशन दिइरहेका छन् । ओलीले सम्बन्धित प्रदेशका इन्चार्जसहितका नेताहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर विद्या भण्डारीका लागि पार्टीभित्र कुनै स्थान नराख्न निर्देशन दिएका हुन् । भण्डारीले आफू मदन भण्डारी फाउन्डेशनबाट सक्रिय हुने कोशिस गरिरहेका बेला ओलीले उनलाई हावाको झोंक्काको संज्ञा समेत दिएका छन् ।  

साउन पहिलो साता बसेको केन्द्रीय कमिटी बैठकमा भाग लिन आएका कर्णालीका नेताहरूलाई ओलीले शनिबार बालुवाटारमै बोलाए । ओलीले एमालेका नेता तथा कार्यकर्तालाई पूर्वराष्ट्रपतितिर लक्षित गर्दै पार्टीमा जबरजस्त देखाइएको हावाको झोंक्काको पछि नलागी एक भएर अघि बढ्न भनेका छन् । शनिबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा तीन घण्टा लामो छलफलमा अध्यक्ष ओलीले कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यलाई यस्तो निर्देशन दिएका हुन् । 

ओलीले पार्टीको महत्वपूर्ण जिम्मेवारीदेखि सिंगो देशकै अविभावकका रुपमा एमालेले स्थापित गरेकी महामहिम पूर्वराष्ट्रपति ज्यूले पछिल्लो समय जुन निर्णय लिनु भएको छ, त्यो हामीले कल्पना गरेका थिएनौँ भन्दै पूर्वराष्ट्रपति भण्डारीको सक्रियताप्रति असन्तुष्टि जनाएका छन् । 

लामो समय जारी राजनीतिक संघर्षको उपलब्धि संघीय लोकतान्त्रीक गणतन्त्रको प्रतिमाका रुपमा रहनु पर्ने व्यक्तिले सदस्यताबारे गरेको बखेडाले स्वयमकै कद घटाउने काम गरेको ओलीको बुझाई छ ।