sevenstartv.com ११ असार २०८३, बिहिवार

रुपन्देही ३ को उम्मेदवारबारे दलहरुले थाले छलफल

९ साउन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पूर्तिको लागि रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुँदैछ । उपनिर्वाचन आउन अझै चार महिना बाँकी रहेता पनि चुनावी सरगर्मी भने अहिल्यैदेखि बढ्न थालेको छ ।

उपनिर्वाचनबारे  सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्नो पार्टीभित्र आन्तरिक छलफल चलाएका छन् । 

कांग्रेसले शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा उपनिर्वाचनबारे छलफल शुरु गरेको हो । सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा भएको बैठकमा रुपन्देही ३ को उपनिर्वाचनबारे प्रारम्भिक छलफल गरिएको नेताहरुले बताएका छन् । रुपन्देही ३ को उपनिर्वाचनमा कांग्रेसले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई उम्मेदवार बनाउने सम्भावना बढी छ । तर त्यसबारे अहिलेसम्म एकीन भइनसकेको बैठकमा सहभागी नेताहरुको भनाई छ । कांग्रेसले रुपन्देहीका पार्टी सभापति रामकृष्ण खाण, लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुन र पूर्वमन्त्री तथा केन्द्रीय सदस्य बालकृष्ण खाणको राय अनुसार वस्तुस्थिति बुझेर उपनिर्वाचनको उम्मेदवार तोकिने जनाएको छ । कांग्रेसले उपनिर्वाचनमा आफ्नो प्रतिस्पर्धा सत्ता सहयात्री एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसँग हुने निष्कर्ष समेत निकालेको छ ।

सरकारको नेतृत्व गरिहेको एमालेले उपनिर्वाचनमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने पक्कापक्की जस्तै छ । भट्टराईले २०७९ सालको निर्वाचनमा रूपन्देही क्षेत्र–५ बाट उम्मेदवार  बन्न राष्ट्रियसभाको सांसद पदबाट राजीनामा दिएका थिए । उम्मेदवारी दर्ता पनि गराए तर पार्टीले तिलोत्तमाका पूर्वमेयर बासुदेव घिमिरेलाई आधिकारिक रुपमा उमेदवार बनाएपछि । भट्टराईको राजनीति अन्योलमा परेको छ । अहिले रुपन्देही ३ बाट संसदमा छिर्न अध्यक्ष केपी शर्मा ओलीसँग हिमचिम बढाउँदै बारम्बार संवाद गरिहेका छन् । यस हिसाबले अहिले रुपन्देही–३ मा एमालेबाट भट्टराई उम्मेदवार बन्ने सम्भावना बलियो देखिएको छ । यद्यपि एमालेबाट भट्टराई बाहेक नेता दधिराम न्यौपाने, शशी पौडेल, केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेल र सिद्धार्थनगर नगरपालिकाका पूर्वमेयर हरि अधिकारीले पनि उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन् । 

रूपन्देही ३ मा विगतदेखि नै आफ्नो वर्चश्व कायम राख्दै आएको राप्रपाले  उपनिर्वाचन दीपक बोहराकै परिवारका सदस्यलाई नै उम्मेदवार सम्भवना बढी छ । राप्रपाले अहिले त्यही अनुसार आन्तरिक गृहकार्य थालेको छ । दीपक बोहराका दुई जना छोरा छन् गौरव र प्रज्ज्वल । दुवै छोराहरू यसअघि सक्रिय राजनीतिमा थिएनन् । तर बुबाको निधनपछि उनीहरू राजनीतिक गतिविधिमा सक्रिय हुन थालेका छन् । अहिले दुवै जनाले रूपन्देही ३ को उपनिर्वाचनमा उम्मेदवारको आकांक्षा राख्दै गतिविधिलाई तीव्रता दिएका छन् । 

उपनिर्वाचन नजिकिँदै गर्दा अन्य व्यक्तिहरुले पनि उम्म्मेदवार बन्ने घोषणा गर्न थालेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको सचिवालयमा सल्लाहकार रहेका तिलोत्तमाका सन्तोष गिरीले उम्मेदवारी दिने तयारी गरेका छन् । ३३ वर्षीय गिरी तिलोत्तमा नगरपालिका ६ पश्चिम पहुनीका बासिन्दा हुन् । फिल्ममेकिंग र लेखनमार्फतसक्रिय किरण विकले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् ।