sevenstartv.com ११ असार २०८३, बिहिवार

भूमि विधेयकमा जसपा नेपालको १० बुँदे असहमति

९ साउन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सरकारले फाष्टट्रयाकबाट पारित गर्न खोजिरहेको भूमि विधेयकप्रति जसपा नेपालले असहमति जनाएको छ । 

भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधिसभाले दफावार छलफलका निम्ति संसदीय समितिमा पठाएको छ । संसदीय समितिमा पुगेको विधेयकमा घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले तोकेको हदभित्रको जग्गा विकास गरी घडेरी, घर वा अपार्टमेन्ट बनाएर बिक्री गर्न पाउने लगायतका प्रावधान छ । 

प्रचलित कानुन बमोजिम घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले हदभित्रको जग्गा विकास गरी घडेरी वा त्यस्तो घडेरीमा घर वा आवास इकाई (अपार्टमेन्ट) निर्माण गरी बिक्री गर्न पाउँदैनन् । यसलाई खुलाउने गरी विधेयक अगाडि बढेको छ । साथै, भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने पनि विधेयकको उद्देश्य छ । 

यस निम्ति तीन वटा ऐन भूमि ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र वन ऐन २०७६ मा संशोधन गर्न लागिएको छ । यसमा जसपा नेपालले १० बुँदे असहमति जनाएको हो । जसपा नेपालले असहमतिका कारणसहित विधयेक संशोधनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा संशोधन प्रस्ताव समेत दर्ता गराएको छ ।