अब उच्च ओहदामा बसेकाहरुले उपहार लिन नपाउने, नियम उल्लंघन गरे कारबाही हुने
काठमाडौँ । राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित उच्च ओहदामा बसेकाहरुले अब उपहार लिन नपाउने भएका छन् ।
सरकारले सार्वजनिक पदमा उच्च तहका रहेकाहरुले उपहार लिन नपाउनेगरी ऐन बनाउन लागेको छ । बिचौलियाहरुले उच्च तहमा रहेकाहरुलाई उपहार दिएर आफ्नो अनुकूल प्रयोग गर्न खोज्ने क्रम बढेपछि यस्तो ऐन बनाउन लागिएको हो । त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ ।
सार्वजनिक पदाधिकारी अन्तर्गत राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, सबै तहका अदालतका न्यायाधीश, सांसदहरू, मुख्यमन्त्री, मन्त्री, संवैधानिक निकायका पदाधिकारी, स्थानीय तहका निर्वाचित पदाधिकारी र कर्मचारी रहन्छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सुझावका लागि वेबसाइटमा राखेको विधेयकमा सार्वजनिक पदाधिकारीले उपहार लिन नपाउने प्रावधान प्रस्ताव गरिएको छ । उपहार सम्बन्धी व्यवस्था विधेयकको दफा ५ मा यस्तो प्रावधान राखिएको हो । दफा ५ को उपदफा १ मा ‘सार्वजनिक पदाधिकारीले आफू पदमा रहँदाका बखत कसैबाट कुनै किसिमको उपहार लिनु हुँदैन’ भनिएको छ । प्रस्तावित ऐनमा सार्वजनिक पदाधिकारीले आफ्नो पदीय हैसियतमा उपहार प्राप्त गरे त्यो लिएर आफू कार्यरत निकायमा दाखिला गर्नुपर्ने उल्लेख गरिएको छ ।
यदि नियम उल्लंघन गरी उपहार लिए कारबाही नै हुने प्रस्तावित ऐनमा जनाइएको छ ।
