घरजग्गाको कारोबार बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको साउनमा ४३ हजार ८३५ वटा जग्गा खरिद बिक्री भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । गत आर्थिक वर्षको साउन महिनामा ३९ हजार २६३ वटा जग्गा कारोबार भएको थियो ।
गत आर्थिक वर्षको तुलनामा यस वर्षको सोही महिनामा ११.६४ प्रतिशतले जग्गा कारोबार बढेको पाइएको छ । घरजग्गा कारोबाट बढेसँगै यस अवधिमा राजस्व सङ्कलनसमेत बढेको छ । साउन महिनामा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।
गत आर्थिक वर्षको सो अवधिमा २ अर्ब ९१ करोड ४ लाख रुपैयाँ बराबर राजस्व सङ्कलन भएको विभागको तथ्यांकमा उल्लेख छ । घरजग्गा कारोबारमा सरकारले सेवा कर, पुँजीगत लाभ कर, रजिस्ट्रेसन दस्तुर लगायतका कर उठाउने गरेको छ । चालु वर्ष घरजग्गा कारोबारबाट राजस्व सङ्कलन बढेसँगै सरकारको समग्र राजस्व सङ्कलनमा टेवा पुर्याएको छ ।
नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवास कर्जा अन्तर्गत दुई करोड रुपैयाँसम्मको सीमा राखेको छ । यस्तो कर्जा लिँदा कर्जा र आम्दानीको अनुपात ६० प्रतिशत हुनुपर्ने व्यवस्था छ। अर्थात् आफ्नो मासिक आम्दानीको ६० प्रतिशत रकम बराबर मात्र किस्ता हुने गरी ऋण लिन सकिन्छ । त्यस्तै, ५० लाख रुपैयाँसम्म कर्जा लिनेहरूको हकमा भने यस्तो अनुपात ७० प्रतिशतसम्म पुर्याइएको छ ।
