sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

भारतीय विद्युतमन्त्री आज नेपाल आउँदै

९ वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर आज नेपाल आउँदै छन् । मन्त्री खड्काको निमन्त्रणामा उनी आज बिहान दुईदिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् । 

विद्युत्मन्त्री खट्टरले आज दिउँसो भारत सरकारको सहयोगमा निर्माणसम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा-बसन्तपुर-बानेश्वर-तुम्लिङटार प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी बसन्तपुर सबस्टेसनको संयक्त रूपमा संखुवासभाको तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

उनले आजै भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने कार्यव्रक्रम छ। सोही दिन दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुने मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।

आज नै मन्त्रीद्वयको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन इन्डियाबीच दुई अन्तरदेशीय प्रशारणलाइन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार ४०० केभी क्षमताका दोधारा (लुम्की) बरेली र इनरुवा-पूर्णिया अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

भोलि खट्टर मुस्ताङको मुक्तिनाथ क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । भोलि नै उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।  विद्युत्मन्त्री खट्टरले सोही दिन साँझ पशुपतिनाथको दर्शन गर्नेछन्। 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्