नेप्से परिसूचक ६.१६ अंकले बढ्याे
काठमाडौं । सोमबार ४९ अङ्कले बढेको शेयर बजार मंगलबार सामान्य अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से मंगलबार ६ दशमलव १६ अङ्कले बढेर दुई हजार ६ सय ४६ दशमलव ८४ विन्दुमा पुगेको छ ।
मंगलबार बैंक, होटल, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । मंगलबार सप्तकोशी विकास बैंक, न्यादी हाइड्रोपावर र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेको दिन आत्मनिर्भर लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । मंगलबार नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार ६ अर्ब ३० करोडको शेयर कारोबार भएकोमा मंगलबार तीन सय पाँच वटा कम्पनीका एक करोड २० लाख कित्ता शेयर पाँच अर्ब ३८ करोड रुपैयाँमा कारोबार भएको छ ।
