कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदैछ ।
गत बुधबारदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजबाट सकिन लागेको हो । भोलिबाट संसद बैठक भएकोले आज अबेरसम्म भएपनि बैठक सक्ने तयारी रहेको कांग्रेसले जनाएको छ ।
कांग्रेसका अनुसार अब २० जना केन्द्रीय सदस्यले बोल्न बाँकी रहेको र त्यसपछि पदाधिकारीले धारणा राखेर सभापतिले जवाफ दिएपछि बैठक सक्ने तयारी भएको हो । बैठकमा गत बुधबार प्रस्तुत भएका ११ वटा एजेण्डा माथि पार्टीका प्रदेश प्रमुख र केन्द्रीय समितिका सदस्यहरूले धारणा राखिरहेका छन् ।
त्यसपछि पदाधिकारीले आफ्नो धारणा राख्नेछन् । आजको बैठकले गत फागुनमा सम्पन्न महासमितिले पारित गरेका प्रतिवेदनलाई पनि परिमार्जनसहित पारित गर्ने कांग्रेसको तयारी छ ।
महामन्त्री गगन थापाको ०८४ को चुनावमा गठबन्धन नगर्ने र माओवादी युद्धका कारण देश पछाडि धकेलिएको उपसभापति पूर्णबहादुर खड्काको प्रतिवेदनका कारण माओवादीले कांग्रेससँगको सहकार्य तोडेको थियो । माओवादीले एमालेसँग मिलेर सरकार बनाएको थियो । अहिले कांग्रेसले एमालेसँग मिलिजुली सरकार बनाएपछि मात्रै महासमिति बैठकका प्रतिवेदन पारित गरेको गरेको हो ।
कांग्रेसले ०८४ को चुनाव एक्लै लड्ने महामन्त्री थापाको प्रतिवेदनमा संशोधन नगर्ने भएको छ । तर, माओवादी युद्धका कारण देश पछाडि परेको भन्ने उपसभापति खड्काको प्रतिवेदनमा भने थप छलफल गरिरहेको छ ।
कांग्रेसले आगामी भदौ १५ देखि मंसिर १५ सम्म सय दिन देशभर संगठनात्मक अभियान चलाउने भएको छ । अभियानमा केन्द्रीय सदस्यलाई ७७ वटै जिल्लामा खटाउने तयारी कांग्रेसको छ ।
